चिकित्सकको आन्दोलनले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द

अस्पतालले ओपिडी सेवा नै बन्द गरेपछि बिरामीकाे बिचल्ली

सोमबार, २३ असार, २०८२
डिजिटल संस्करण

उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिँदा बिरामीहरू मारमा परेका छन् । आज (सोमबार) चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पारेका छन् । अस्पतालको ओपिडी सेवा नै बन्द भएपछि बिरामी बिचल्लीमा परेका छन् । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताललगायत ठुला अस्पतालमा उपचारका लागि आएका बिरामी ओपिडी बन्द भएपछि बिचल्लीमा परेका हुन् । 

अदालतले चिकित्सक तथा अस्पतालमाथि नियोजित रूपमा फैसला गरेको आरोपमा चिकित्सकहरूले आज निजी र सरकारी दुवै अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा रोकेका छन् । नेपाल चिकित्सक संघले नै आन्दोलनको अगुवाइ गर्दै सेवा ठप्प पार्न चिकित्सकहरूलाई निर्देशन दिएको छ ।

नेपाल चिकित्सक संघले नेतृत्व गरेकाे आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धित अन्य नाैवटा संघसंस्थाले समेत समर्थन गर्दै अदालतको फैसलाको विरोध गरेका छन् । चिकित्सक संघले अदालतको फैसला अव्यावहारिक र चिकित्सकमाथि प्रतिशोध लिएको संघका अध्यक्ष अनिलविक्रम कार्कीले बताए ।

‘चिकित्सकमाथि राज्यले सजायमा भार थपेको छ, यसमा हाम्रो आपत्ति छ, यो समाधान नभएसम्म सेवा ठप्प हुन्छ,’ उनले भने, ‘बिरामीलाई उपचार सेवा नदिऊ भन्ने होइन, तर सरकारले चिकित्सकहरूमाथि राखेको प्रतिशोध र निशाना ठिक भएन ।’

सुझावित समाचार