३९ वर्षपछि फिर्ता भयो बाँसबारी छालाजुत्ता कारखानाको जग्गा

जग्गा खाली भएसँगै सिआइबी कार्यालय राख्ने प्रस्ताव, खुला राख्न स्थानीयको माग

बिहिबार, १९ असार, २०८२
डिजिटल संस्करण
३९ वर्षपछि फिर्ता भयो बाँसबारी छालाजुत्ता कारखानाको जग्गा

सिजी चाँदबाग रेसिडेन्सीले प्रयोग गरेको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा जालसाजी गरेर हत्याएको ३९ वर्षपछि सरकारकै नाममा फिर्ता आएको छ । काठमाडौंको बाँसबारीस्थित १० रोपनी जग्गा खाली भएपछि सरकारी प्रयोजनकै लागि प्रयोग गर्ने प्रक्रिया अघि बढेको छ । 

एक वर्षअघि नै सो जग्गा सरकारको नाममा ल्याउने निर्णय भए पनि खाली हुन सकेको थिए । सरकारले मुद्दा नचलाउने निर्णय गरेपछि जग्गा खाली गराउन सिजी चाँदबाग रेसिडेन्सी तयार भएको हो । 

प्रेमबहादुर थापा, काठमाडौं महानगरपालिका–३, वडाध्यक्ष
खाली भएको जग्गामा सिआइबीको कार्यालय राख्न दुई महिनाअघि नै पत्र आएको थियो । त्यसउपर कुनै निर्णय गरेका छैनौँ, गंगालाल अस्पतालले पनि मागेको छ र स्थानीयले त्यो जग्गा खाली नै राख्नुपर्छ भन्नुभएको छ । छलफल गरेर निर्णय लिन्छौँ ।

काठमाडौं महानगरपालिका– ३ मा पर्ने सो जग्गा गत वैशाखदेखि खाली भएको हो । तर, कसरी उपभोग गर्ने भन्ने टुंगो लागेको छैन । नेपाल प्रहरीले भने केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालय राख्न प्रस्ताव गरेको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले पनि सो जग्गा माग गरेको छ । 

‘खाली भएको जग्गामा सिआइबीको कार्यालय राख्न दुई महिनाअघि नै पत्र आएको थियो,’ काठमाडौं– ३ का वडाध्यक्ष प्रेमबहादुर थापा भन्छन्, ‘त्यसउपर कुनै निर्णय गरेका छैनौँ, गंगालाल अस्पतालले पनि मागेको छ र स्थानीयले त्यो जग्गा खाली नै राख्नुपर्छ भन्नुभएको छ । छलफल गरेर निर्णय लिन्छौँ ।’ स्थानीयले पार्क बनाउन माग गरेका छन् । स्कुलले जग्गा खाली गराए पनि त्यहाँका संरचना भने भत्काइसकेको छैन । वडा कार्यालयले असारभित्र संरचना भत्काएर लैजान पत्र लेखेको छ । 

सिआइबीकै अनुसन्धानका आधारमा सो जग्गा सरकारको नाममा फिर्ता आएको हो । सिआइबीले १८ माघ ०८० मा सो विद्यालयका सञ्चालक अरुण चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । पछि मुद्दा नचलाउने सर्तमा सिजी चाँदबाग रेसिडेन्सी जग्गा फिर्ता गर्न तयार भएको थियो । तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा कर्मचारीसहितको मिलेमतोमा किर्ते कागजपत्र बनाई हत्याएको भन्दै सिआइबीले अनुसन्धान थालेको थियो । यद्यपि, पछि मुद्दा नचलाउने निर्णय गरियो । 

०४३ मा चौधरी समूहले च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता उद्योगलाई सहयोग गर्ने आश्वासनमा साझेदारी गरेको थियो । जुत्ता उत्पादनमा सघाउने भन्दै च्याम्पियन फुटवेयरले बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा मिलेमतोमा नियम मिचेर सस्तोमा खरिद गरेको थियो । त्यस्तै, कम्पनीको २५ सय कित्ता सेयर बाँसबारी छालाजुत्ता उद्योगलाई दिने सहमतिमा सोबापतको चार रोपनी जग्गा च्याम्पियन फुटवेयरले आफ्नो बनाएको थियो । तर, सञ्चालनमा आएको तीन वर्षपछि नै फुटवेयर बन्द गरियो । छालाजुत्ता कम्पनीको जग्गा भने फिर्ता भएन । छालाजुत्ता कम्पनीलाई पनि पछि सरकारले निजीकरण गरेको थियो । जग्गा हत्याउनकै लागि त्यसरी सरकारी स्वामित्वको कम्पनीसँग साझेदारी गरिएको अनुसन्धानमा खुलेको थियो ।

सिआइबी हाल नेपाल ट्रस्टको लाजिम्पाटस्थित भवनमा लिजमा बसेको छ । तर, त्यहाँ पर्याप्त ठाउँ नहुँदा हिरासत कक्ष तथा केही कार्यालय भने महाराजगन्जस्थित पुरानो कार्यालयमा छ । आफ्नै भवन नहुँदा अनुसन्धानलगायत काममा समस्या हुँदै आएको सिआइबीका एसएसपी होबिन्द्र बोगटी बताउँछन् । सोही कारण बाँसबारीमा खाली भएको १० रोपनी जग्गा माग गरिएको उनले बताए । 

सुझावित समाचार