मन्त्रालय र एनओसीबिचको विवाद : २०औँ एसियाडमा मन्त्रालय र एनओसीबाट फरक खेलसूची दर्ता

मन्त्रालय भन्छ– ३१ खेल, तर ३० खेल मात्रै एसियाडमा दर्ता भएको एनओसीको दाबी

बुधबार, १८ असार, २०८२
डिजिटल संस्करण

अर्को वर्ष जापानमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा नेपालबाट सहभागी हुने खेलको सम्बन्धमा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटी (एनओसी)ले फरक–फरक सूची आयोजकलाई पठाएका छन् । एनओसीले मंगलबार पत्रकार सम्मेलन गर्दै सोमबार राति १२ बजेभित्र एसियाडमा नेपालबाट ३० वटा खेल संघका नाम दर्ता गराएको जानकारी दिएको छ । 

एनओसीको पत्रकार सम्मेलनलगत्तै मन्त्रालयले नेपालबाट ३१ खेल दर्ता भएको बतायो । जापानको आइची नागोयामा हुने एसियाडको सहभागितालाई लिएर दुई फरक खेल सूची दर्ता हुँदा मन्त्रालय र एनओसीबिचको आपसी द्वन्द्वी छरप्रस्ट भएका छन् । ‘हामीले आयोजकलाई नेपालबाट ३० वटा खेल संघले भाग लिने भनी दर्ता गराएका छौँ,’ अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘सोमबार खेल दर्ता गराउने अन्तिम दिन थियो । अब समयसीमाभन्दा पछि आएका खेल संघ दर्ता गर्न सकिँदैन ।’

मन्त्रालयले प्रतियोगितामा सहभागी हुन चाहने ३१ वटा खेल संघको खेल सम्बन्धित निकायमा दर्ता भएको विज्ञप्तिबाट जानकारी दिएको छ । एनओसीले फुटबल र फेन्सिङ, तेक्वान्दोजस्ता प्रमुख खेल समावेश गरेको थिएन । तर, मन्त्रालयको लिस्टमा तेक्वान्दोसँगै, फुटबल तथा फेन्सिङ खेल समावेश छन् । मन्त्रालयले एनओसीले दर्ता नगरेको नौ खेल पठाएको छ । तेक्वान्दो, जिम्न्यास्टिक, इक्वेस्ट्रियन, फुटबल, फेन्सिङ, सुटिङ, ट्रायथलन, ह्यान्डबल, र रोइङ छन् । एसियाडको इतिहासमा नेपाललाई पहिलोपटक रजत दिलाएको खेल नै तेक्वान्दो थियो । सन् १९९८ मा बैंककमा भएको एसियाडमा सविता राजभण्डारीले इतिहास रच्दै नेपाललाई तेक्वान्दोबाट रजत दिलाएकी थिइन् । 

राखेप र मन्त्रालयमा दुईपटक पत्राचार
एनओसीका अध्यक्ष श्रेष्ठले २०औँ एसियाडमा खेल संघको दर्ता गराउन मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई दुई–दुईपटक नाम दर्ता गराउन पत्र पठाएको बताए । ‘हामीले ओसिए र आयोजकबाट प्राप्त सहभागिता पत्र मन्त्रालय र राखेपमा दुईपटक पठायौँ, तर उहाँहरूले अहिलेसम्म पनि केही जवाफ फर्काएका छैनन्,’ उनले भने । एसियाडको नियमावलीअनुसार डेटलाइनपछि कुनै पनि खेल संघ दर्ता गर्न नसकिने श्रेष्ठले बताए । ‘मन्त्रालय र राखेपबाट कुनै जवाफ नआएकाले खेल संघमार्फत नै दर्ता प्रक्रिया अघि बढायौँ । हामीले सोमबार अन्तिम दिन ३० खेलको पठाएका छौँ,’ उनले भने । 

मन्त्रालय र राखेपले भने अवैध एनओसीको अनुरोधलाई कानुनअनुसार मान्यता दिन नसक्ने जनाएका छन् । खेलकुदमन्त्री तेजुलाल चौधरीले परराष्ट्र मन्त्रालय र नेपालस्थित जापानिज दूतावासको सहयोगमा सहभागी हुने खेलको सूची पठाएको बताए । ‘अवैध एनओसीले गरेका कुनै काम वैध छैन । सरकारले एसियाडमा भाग लिने खेल सूची दर्ता गराइसकेको छ,’ उनले भने । पछिल्लो समय मन्त्रालय र एनओसीबिचको विवाद पेचिलो बन्दै जाँदा यसको प्रत्यक्ष असर खेल संघ र खेलाडीमा परेको छ । 

विवादबारे खेलाडी संघको ध्यानाकर्षण

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राखेप र एनओसीबिचको पछिल्लो विवादले फेरि एकपटक खेलाडी मारमा पर्ने सम्भावना बढेको बताए । नेपाली खेलकुदमा समय–समयमा देखिने संस्थागत र नेतृत्वगत विवादको प्रत्यक्ष असर खेलाडीमाथि परेको उनको भनाइ छ । ‘अहिले उत्पन्न परिस्थितिले फेरि एकपटक खेलाडीको हक, अवसर र भविष्यमा प्रत्यक्ष असर पार्ने सम्भावना बढेको छ,’ श्रेष्ठले भने, ‘खेलाडी नै मर्कामा पर्दा खेलकुद नेतृत्व गरिरहेका संस्था र पदाधिकारीहरूको औचित्यमाथि नै गम्भीर प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ ।’ 

दुई संस्थाबिचको आपसी द्वन्द्वका कारण २०औँ एसियाडमा नेपालको सहभागी हुन नपाउने खतरा बढ्नु नेपाली खेलकुदकै लागि दुर्भाग्यपूर्ण हुने श्रेष्ठले बताए । ‘सबै सरोकारवाला युवा तथा खेलकुद मन्त्रालय, राखेप, एनओसी र राष्ट्रिय संघहरूलाई आ–आफ्नो जिम्मेवारी बोध गर्दै खेलाडीको सहभागिता निश्चित गर्ने वातावरण तत्काल निर्माण गर्न संघले आग्रह गरेको छ,’ उनले भने । 

अन्तर्राष्ट्रिय अभ्यास 
आइओसी र ओसिएले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुने खेल संघको दर्ता सम्बन्धित राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी)लाई अधिकार दिएका हुन्छन् । एनओसीबाहेक कुनै पनि माध्यमबाट प्रतियोगितामा सहभागी हुनचाहे आइओसी र ओसिएले मान्यता दिँदैन । 

आइओसी र ओसिएको प्रत्यक्ष संलग्न हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा एनओसीलाई समन्वय भूमिकाको अधिकार दिएको हुन्छ । नेपालको हकमा नेपाल ओलम्पिक कमिटीलाई यस्तो अधिकार दिएको छ । अहिलेसम्म एनओसीको माध्यमबाटै नेपालले ओलम्पिक र एसियाड आदि अन्तर्राष्ट्रियमा भाग लिँदै आएको छ ।

आइओसी र ओसिएले एनओसीलाई प्रतिबन्ध लगाएको अवस्थामा प्रतियोगितामा सहभागी हुन फरक माध्यम अपनाउनुपर्छ । एनओसी प्रतिबन्ध हुँदा पनि सम्बन्धित राष्ट्रका खेलाडीले प्रतियोगितामा सहजै सहभागी हुन पाउँछन् । उनीहरू आइओसी वा ओसिएको झन्डामुनि प्रतिस्पर्धा गर्छन् । ‘नेपालमा हामी मात्र मान्यताप्राप्त एनओसी हो । यो संस्थाबाहेक अन्य माध्यमबाट एसियाडमा सहभागिताको नाम दर्ता गराएको छ भने त्यो ओसिए र आयोजकलाई मान्य हुनेछैन,’ एनओसीका महासचिव राजीव श्रेष्ठले भने, ‘उहाँहरूले कहाँ गएर ३१ खेलको नाम दर्ता गराएको हो ?’ 

See More On

सुझावित समाचार