हिमाल अस्पताललाई एक करोड ४५ लाख क्षतिपूर्ति भराउन उपभोक्ता अदालतको आदेश

शुक्रबार, १३ असार, २०८२
डिजिटल संस्करण

उपचारमा लापरबाहीका कारण २८ महिने बालिकाको मृत्यु भएको ठहर गर्दै उपभोक्ता अदालतले काठमाडौंस्थित हिमाल अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डा. जगदेव यादवलाई एक करोड ४५ लाख ४४ हजार १ सय रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यद्वय गेहेन्द्रराज रेग्मी र आनन्दराम पोख्रेलको इजलासले अस्पतालले मेडिकल लापरबाही गरेको र गुणस्तरीय सेवा दिन असफल भएको ठहर गर्दै यो क्षतिपूर्ति आदेश गरेको हो । 

स्रेस्तेदार शोभाकर खरेलका अनुसार यो अहिलेसम्मकै ठुलो क्षतिपूर्ति भराउने आदेश हो । ‘यो हालसम्मको उपभोक्ता अदालतको क्षेत्रमा सबैभन्दा ठुलो क्षतिपूर्तिको आदेश हो ।  अदालतले प्रमाणको आधारमा अस्पतालको सेवामा देखिएको कमजोरी नै बालिकाको मृत्युको मुख्य कारण ठहर गरेको छ,’ उनले भने । उनका अनुसार अस्पताललाई ७० प्रतिशत र डा. यादवलाई ३० प्रतिशत जरिवाना भराउने आदेश भएको छ । आदेशअनुसार अस्पतालले १ करोड १ लाख ८० हजार ८ सय ७० रुपैयाँ र डा. यादवले ४३ लाख ६३ हजार २ सय ३० रुपैयाँ क्षतिपूर्ति दिनुपर्नेछ । 

अदालतमा दायर उजुरीपत्रअनुसार गंगा गौतमले छोरी प्रशंसालाई रुघाखोकी र ज्वरो आएपछि गत २३ माघमा उपचारका लागि हिमाल अस्पताल लगेकी थिइन् । त्यहाँ डा. यादवले परीक्षण नै नगरी रुघाखोकीको औषधि लेखेर दिएका थिए । पटक–पटक अस्पताल लैजाँदा पनि उपचारमा बेवास्ता गरेको र २५ माघमा साँझ थप उपचारका लागि अस्पताल लैजाँदा एक्सरे परीक्षण गरी जटिल प्रकारको निमोनिया भइसकेको भेटिएको थियो ।

त्यसपछि अस्पतालले आइसियू नभएकाले उपचार सम्भव नभएको भन्दै अन्यत्र रिफर गरेको उजुरीपत्रमा उल्लेख छ । अन्य ठाउँमा लैजाँदै गर्दा बालिकाको बाटोमै मृत्य भएको थियो । त्यसपछि बालिकाका बुवा गंगाले उपभोक्ता अदालतमा क्षतिपूर्तिको दाबीसहित मुद्दा दायर गरेका थिए । यसअघि अदालतले उपचारमा लापरबाही मुद्दामा ओम हस्पिटललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो । 

सुझावित समाचार