बागमती प्रदेश सभा बैठक बस्दै, आजबाट बजेटमाथिको छलफल प्रक्रिया सुरु हुने

बिहिबार, १२ असार, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश सभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकबाट प्रदेश सरकारले १ असारमा ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ। बागमती प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको जानकारी दिए । 

उनका अनुसार बैठकमा सांसदहरूले बजेटमाथि धारणा राख्नेछन् । यस्तै, बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेशको मध्यकालीन खर्च संरचना प्रस्तुत गर्ने कार्यसूची पनि रहेको सचिव पौडेलले बताए ।

बागमती सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि कुल रु. ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक सन्तुलन, उत्पादनशीलता वृद्धि र सामाजिक विकासलाई लक्ष्य गर्दै बजेट प्रस्तुत गरिएको प्रदेश सरकारको दाबी छ। बजेटमा चालू खर्चतर्फ २६ अर्ब ४४ करोड (३८.६ प्रतिशत) र पुँजीगत खर्चतर्फ ४१ अर्ब (३ करोड ९६१.४ प्रतिशत) विनियोजन गरिएको छ ।

सुझावित समाचार