नेपाल प्रवेश गरेका चार पूर्वभुटानी शरणार्थीलाई जनही पाँच हजार जरिवाना

बुधबार, ११ असार, २०८२
डिजिटल संस्करण
नेपाल प्रवेश गरेका चार पूर्वभुटानी शरणार्थीलाई जनही पाँच हजार जरिवाना

चारजनालाई भुटानी शरणार्थी शिविर बेल्डाँगीमा आफन्तको जिम्मा लगाइँदै ।

अमेरिकाले निष्कासन गरेका चारजना पूर्वभुटानी शरणार्थीलाई पाँच हजार जरिवाना गरिने भएको छ । अवैध रूपमा नेपाल प्रवेश गरेका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरुङलाई अध्यागमन विभागले पाँच–पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । 

नेपालबाट पुनर्वास भएर अमेरिका गई त्यहाँ विभिन्न मुद्दा लागेका १० पूर्वभुटानी शरणार्थीलाई २५ मार्चमा अमेरिकाले निष्कासन गर्दै भुटान पठाएको थियो । तीमध्ये चारजना अवैध रूपमा नेपाल प्रवेश गरेका थिए । चारमध्ये तीनजनालाई इलाका प्रहरी कार्यालय दमकले गत १६ चैतमा भुटानी शरणार्थी शिविर बेल्डाँगीबाट पक्राउ गरेको थियो । अशोक गुरुङ भने केही दिनपछि नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ परेका थिए । केही दिन हिरासतमा बसेपछि उनीहरूलाई सर्वोच्चको आदेशमा १२ वैशाखमा अध्यागमन विभागले बेल्डाँगी र पथरीशनिश्चरेस्थित शरणार्थी शिविरमा आफन्तको जिम्मा लगाइएको थियो । सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि उनीहरू छुटेका थिए । सर्वोच्चले ६० दिनभित्र मुद्दा सक्न निर्देशन पनि दिएको थियो ।

उनीहरूलाई जरिवानासँगै अध्यागमनसम्बन्धी ऐन, २०४९ र नियमावली, २०५१ अनुसार हिरासतको बसाइबाहेक अन्य दिनको दैनिक आठ अमेरिकी डलर भिसा शुल्क र विलम्ब शुल्क लिने निर्णय भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए । यस्तै, उनीहरूलाई कागजात माग गर्ने र कागजात नल्याएसम्म नेपालमै भिसा शुल्क तिरेर बस्ने दिने निर्णय भएको उनले बताए । ‘उनीहरूलाई न्यूनतम जरिवाना गराइएको छ । अब जहाँको ड्राभल डकुमेन्ट वा राहदानी ल्याउँछन्, त्यही देश पठाउने निर्णय भएको छ,’ उनले भने, ‘कागजात नल्याएसम्म दैनिक आठ डलर भिसा र विलम्ब शुल्क लाग्छ । कागजात नल्याएसम्म उनीहरू उहिले बसेको ठाउँ भुटानी शरणार्थी शिविर बेल्डाँगी र पथरीशनिश्चरे नै बस्न पाउने निर्णय भएको छ ।’

उनीरूलाई अमेरिका सरकारले न्युजर्सी विमानस्थलबाट २५ मार्चमा भारतको नयाँदिल्लीको विमानस्थल हुँदै भुटानको पारो विमानस्थलसम्म पुर्याएको थियो । भुटानको पारो पुग्नेबित्तिकै भुटान प्रहरीले पक्राउ गरी कागजात खोसेर नेपाल पठाएको थियो । भुटानका प्रहरीले खर्चसमेत दिएर नेपाल–भारत सीमावर्ती भारतीय सहर पानीट्यांकीमा ल्याएर छाडेको अनुसन्धानमा खुलेको थियो । त्यसपछि उनीहरू लुकीछिपी नेपाल प्रवेश गरेका थिए ।

उनीहरूसँग अहिले केही पनि कागजात छैन । तसर्थ, उनीहरूलाई जरिवाना गरेर कागजात लिएर आउनु भनेर निर्णय गर्नुले झनै अन्योलता थपेको भुटानी शरणार्थी बस्ती व्यवस्थापन समिति बेल्डाँगीका सचिव सञ्चहाङ सुब्बाले बताए । ‘यो निर्णयले त अमेरिकाले निष्कासन गरेका चारजनाको भविष्य झनै अन्योल बनाएको छ ।

जरिवना गरेर काजगात ल्याउनु भन्नु त उनीहरूलाई मारेसरह हो,’ उनले भने, ‘भुटानमा सरकारले सबै कागजात खोसेको छ । अहिले उनीहरूसँग केही कागजात छैन । यो त घाउमा चुक छरेजस्तो भयो । कि त सरकारले भुटानसँग समन्वय गरेर उनीहरूको कागजात ल्याउनुपर्छ, कि त अमेरिकी दूतावाससँग समन्वय गरेर कागजात मगाएर कहाँ पठाउने हो निर्णय गर्नुपर्छ, नभए त समस्या समाधान कसरी हुन सक्छ ? हामी यस्ता समस्यामा दिगो समाधान चाहन्छौँ ।’

सुझावित समाचार