भिजिट भिसाबारे कांग्रेस प्रमुख सचेतक– जान चाहनेलाई पठाइयो, मानव तस्करीसँग जोड्न आवश्यक छैन

बिहिबार, ५ असार, २०८२
डिजिटल संस्करण
भिजिट भिसाबारे कांग्रेस प्रमुख सचेतक– जान चाहनेलाई पठाइयो, मानव तस्करीसँग जोड्न आवश्यक छैन

फाइल तस्बिर

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानव बेचबिखनसँग जोड्न नमिल्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले जान चाहनेलाई पैसा लिएर पठाइएकाले मानव बेचबिखनसँग जोड्न आवश्यक नरहेको जिकिर गरे।

उनले भने, ‘यो पैसा लिएर पठाउने कुरा भएको हो। जान चाहनेसँग पैसा लिएर पठाइयो भन्ने कुरा हो। तर, तपाईंलाई लगेर मैले कहीँ बेचेँ, पैसा लिएर तपाईंलाई कहीँ पुर्याएर लाभ लिएँ भने पो मानव बेचबिखन हुन्छ त। जेलाई पनि मानव बेचबिखन भनिदिने?’

उक्त विषय अनुसन्धानकै क्रममा रहेको र मुद्दा अभियोजनसमेत नभएकाले कर्मचारी वा अन्य कसैलाई पनि दोषी किटान गर्न नमिल्नेसमेत घिमिरेले प्रस्ट्याए।

अनावश्यक माग राखेर वेल घेराउसम्म पुगेकाले रास्वपालाई अडानबाट फिर्ता हुन गाह्रो भएको भन्दै उनले भने, ‘गृहमन्त्रीले मान्छे बेच्यो भनेर यस्ता बेतुकका कुरा गर्नु बेअर्थ छ। यो कुरामा उहाँहरू फस्नुभयो। उहाँहरूले अनावश्यक माग राखेर वेल घेराउसम्म पुग्नुभयो। पुगेपछि उहाँहरूलाई पनि फिर्ता हुन गाह्रो भएको होला।’
 

सुझावित समाचार