प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

शनिबार, ३२ जेठ, २०८२
डिजिटल संस्करण

विभागीय सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ०८२ को उपाधि हात पारेको छ । विभागीय डर्बीमा नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो ।

नेसनल स्पोट्र्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघले संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउदेश्य कभर्डहलमा सम्पन्न फाइनल खेलको पहिलो सेट २५–१९, दोस्रो सेट, २५–२० र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै एपिएफले पुलिसलाई निरास बनाउँदै उपाधि हात पारेको हो ।

प्रतियोगितामा  पुलिस समूह ‘ए’ को विजेता र एपिएफ समुह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाईनलमा पुलिसले समूह ‘बी’ को उपविजेता एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा र एपिएफले समूह ‘बी’ को विजेता न्यु डायमण्ड स्पोट्र्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनमा स्थान बनाएका थिए । 

दुई साताबिचमा दुई टोलीको पोखरामा यो तेस्रो भेट हो । जितसँगै एपिएफले यस अघिका दुई हारको बदला पुलिससँग लिएको छ । प्रतियोगिताको २७ जेठमा भएको उद्घाटन खेलमा पुलिसले एपिएफलाई २५–२२, २७–२५ र २५–१७ को सोझो सेटमा पराजित गरेको थियो । त्यसअघि पोखरामा सम्पन्न प्रधानमन्त्री (पिएम) कप एनभिए पुरुष तथा महिला भलिबल लिग ०८२ अन्तर्गत ११ जेठमा सम्पन्न खेलमा पुलिसले एपिएफलाई २५–१९, २४–२६, २५–१८ र २५–२१ को ३–१ को सेटमा पाखा लगाएको थियो ।

यसै गरि तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्ड स्पोट्र्स क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा पराजित गर्याे । खेलको पहिलो सेट २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले न्यु डायमण्डले आफ्नो पक्षमा पारेको थियो । 

दुई साताको बिचमा दुई टोलीको पोखरामा यो तेस्रो भेट हो । तीन भेटमै न्यू डायमण्डाले जित हात पार्दा हारको बदला लिनबाट एभरेष्ट चुकेको छ । 
सम्पन्न प्रतियोगिताको २७ जेठमा भएको खेलमा २५–११, २५–१८ र २५–१० को सोझो सेटमा र त्यसअघि सम्पन्न प्रधानमन्त्री (पिएम) कप एनभिए पुरुष तथा महिला भलिबल लिग ०८२ अन्तर्गत १० जेठमा सम्पन्न खेलमा २१–२५, २५–२३, २५–१४ र २५–२२ को १–३ को सेटमा न्यू डायमण्डले जित हात पारेको थियो ।
२७ जेठदेखि सुरु ६ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेताले ६ लाख, उपविजेताले तीन लाख, तेस्रोले एक लाख नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउदा सर्वोत्कृष्ट खेलाडीले ३० र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरूले जनही २० हजार नगद पुरस्कार पाए ।

यी खेलाडी भए सर्वोत्कृष्ट र उत्कृष्ट 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी : एपिएफकी निरुता ठगुन्ना
उत्कृष्ट सेटर : एपिएफकी जसना महतो
उत्कृष्ट सर्भरमा : एपिएफकी सृष्टि खड्की
उत्कृष्ट स्पाइकर : पुलिसकी उषा भण्डारी 
उत्कृष्ट ब्लकर : न्यु डाइमण्डकी सुमित्रा रेग्मी 
उत्कृष्ट लिब्रो : न्यु डायमण्डकी सलिना श्रेष्ठ 
उत्कृष्ट प्रशिक्षक : एपिएफका पुष्प मल्ल 

जितपछि एपिएफका प्रशिक्षक पुष्प मल्लले भने– खेलाडीको कडा मेहनताका कारण जित हात पारियो । जुन योजना बनाएर मैदान छिरेका थियांै खेलाडीले सोहीअनुसार खेल्दा जितका लागि सहज भएको । जितका लागि सहज भने थिएन तर यस अघिका कमी कम्जोसी सुधारेर खेलाडीले गरेको मिहिनेत र विपक्षीको कमि कम्जोरीसँगै अन्य कुरामा बनाएको रणनीतिअनुसार खेलाडीको प्रस्तुतिले मेल खाएकाले पनि जितका लागि सहज भएको भनाइ उनको छ । 

पुलिसका प्रशिक्षक रुपेश विष्टले भने– आज टोलीमा कम्बिनेशन नमिल्नु हारको कारण रह्यो । आज हाम्रो ब्लक, सर्मिस सबैमा कम्जोरी रह्यो, तालमेल पनि मिलने, केही खेलाडीलाई मात लागेजस्तो पनि देखियो जस्का कारण आफनै गल्तिले हार्न पुगियो । खेलमा हार जित स्वभाविक हो, तर आज आफै कारणले हारेकाले यो हारबाट पाठ सिक्ने मौका समेत मिल्यो । 
 

सुझावित समाचार