यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा लुम्बिनी प्रदेश च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बन्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश २ स्वर्ण र ५ रजत साथ दोस्रो भयो । गण्डकी र मधेश प्रदेशले समान २ स्वर्ण, १ रजत र १ कांस्यसाथ संयुक्त रूपमा तेस्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान १ स्वर्ण जिते ।
दशरथ रंगशालामा सोमबार छात्र र छात्रामा समान तीन स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । दुई सय मिटर छात्रमा गण्डकीका हेमराज चौधरी पहिलो भए । उनले निर्धारित दूरी २४.९ सेकेन्डमा पूरा गरे । छात्रामा लुम्बिनीकी अनुजा थारू चौधरी पहिलो भइन् । अनुजाले निर्धारित दूरी तय गर्न ३१.४ सेकेन्ड समय खर्चिन् । प्रतियोगिताको छात्र आठ सय मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते । उनले दुई मिनेट ७.४ सेकेन्ड समय निकाले ।
छात्रामा लुम्बिनीकी चाँदनी पासी दुई मिनेट ४७.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । छात्र चार गुणा एक सय मिटर रिलेमा मधेश पहिलो भएको छ । यसैगरी, थ्री बाई थ्री बास्केटबलको उपाधि कोशी र बागमतीले जितेका छन् । कोशी छात्र तथा बागमती छात्रामा च्याम्पियन बनेका हुन् । छात्र फाइनलमा कोशीले मधेशलाई १७–१२ ले पराजित गर्यो । छात्राको उपाधि भिडन्तमा बागमतीले कर्णालीलाई १५–३ ले हरायो । छात्र–छात्रामा समान सात प्रदेशले भाग लिएका थिए ।
रग्बीमा मधेश र सुदूरपश्चिम च्याम्पियन
रग्बी सेभेन्सको छात्रमा मधेश र छात्रामा सुदूरपश्चिम च्याम्पियन बनेका छन् । दशरथ रंगशालामा भएको छात्र फाइनलमा मधेशले कर्णालीलाई सडन डेथमा पराजित गर्यो । निर्धारित समयमा दुवै टोलीबाट स्कोर हुन नसकेपछि मधेशले अत्तिरिक्त समय एक ‘टाई’ गर्दै उपाधि निश्चित गर्यो । छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले कर्णालीलाई पछि पार्यो । दुईबिचको खलमा कर्णालीले खेलमा ‘थ्री नकअन’ गरेपछि पराजित भयो ।