दोधारा चाँदनी एकीकृत जाँच चौकी/सुक्खा बन्दरगाह निर्माणका लागि परियोजना परिसरका रुख कटान कार्य ५९ प्रतिशत सकिएको छ । परियोजनास्थल कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको राष्ट्रिय वनक्षेत्र उपयोगका लागि कटान गर्नुपर्ने एक हजार पाँच सय ९३ रुखमध्ये नौै हजार ४० वटा रुख कटान गरिएको हो ।
बाँकी रुख कटान कार्य असार दोस्रो साताभित्र सम्पन्न हुने नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । त्यसपछि सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढाइने उनले जानकारी दिए ।
दोधारा चाँदनी एकीकृत जाँच चौकी/सुक्खा बन्दरगाह नेपालको राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना हो । आयोजना निर्माणका लागि कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वनक्षेत्रको ४२.३६ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख र पोलहरू हटाउन २ असोज २०८१ मा मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । उक्त निर्णय कार्यान्वयन गर्नका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडेल यातायात विकास समितिबिच १३ पुस २०८१ मा सम्झौता भएको थियो ।
एकीकृत जाँच चौकी निर्माणका लागि संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वनको रुख कटानका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले २४ माघ २०८१ मा अनुमति दिएको थियो । उक्त आदेश प्राप्त भएपछि समितिले १ फागुन २०८१ मा रुख कटानका लागि टेन्डर आह्वान गरेको थियो । प्रतिस्पर्धाबाट छनोट भएको कम्पनीले ८ वैशाख २०८२ देखि रुख कटान कार्य सुरु गरेको थियो । ‘अहिलेसम्म ५९–६० प्रतिशत रुख कटान सकिएको छ, बाँकी रुख कटानको कार्य आगामी १५ दिनभित्र सम्पन्न हुनेछ’ उनले भने, ‘रुख कटान सकिएपछि निर्माण कार्य अघि बढ्नेछ, हामी छिटोभन्दा छिटो यो बन्दरगाहको निर्माण सुरु गर्ने गरी काम गरिरहेका छौँ ।’
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने यस परियोजनाका लागि नेपाल र भारतबिच १ जुन २०२३ मा समझदारी भएको थियो । आयोजनाको कुल लागत करिव तीन अर्ब ८० करोड रुपैयाँ रहेको छ । हाल भारतीय पक्षबाट निर्माण कम्पनी छनोट भइसकेको र चाँडै उक्त निर्माण कम्पनीसँग सम्झौतामा हस्ताक्षर हुने जानकारी प्राप्त कार्यकारी निर्देशक गजुरेलले बताए ।