भारतबाट फर्केका तीनजनामा कोरोना संक्रमण

बुधबार, २२ जेठ, २०८२
डिजिटल संस्करण

भारतमा कोरोना संक्रमण बढ्न थालेसँगै भारतबाट घर फर्कने नेपालीमा पनि संक्रमण देखिन थालेको छ। गौरीफन्टा नाका हुँदै बुधबार स्वदेश फर्किएका तीनजनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमण देखिनेमा दुई पुरुष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। नाकामा एन्टिजेनबाट गरिएको परीक्षणमा भारतको गुजरातबाट फर्किएका अछामको ढकारी घर भएका ३२ वर्षीय पुरुष र दिल्लीबाट फर्किएका पुनर्वासका २० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको केन्द्रका फोकल पर्सन हेमराज जोशीले जानकारी दिए।

त्यस्तै, भारतको पन्जाबबाट फर्किएकी धनगढीकी २४ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ। ज्वरो र रुघाखोकीको लक्षण रहेका तीनैजनालाई ‘होम आइसोलेसन’मा पठाइएको जोशीले बताए। 

पिसिआरबाट कोरोना परीक्षणका लागि तीनैजनाको नमुना संकलन गरेर काठमाडौं पठाइएको केन्द्रले जनाएको छ। ‘पोजेटिभ देखिए नमुना संकलन गरेर पठाउनू भन्ने निर्देशन थियो,’ जोशीले भने, ‘नयाँ भेरियन्टको कोरोना हो कि भनेर पत्ता लगाउन नमुना काठमाडौं पठाएका हौँ।’

निर्देशनालयले बुधबारबाट त्रिनगर नाकामा एन्टिजेनबाट कोरोना परीक्षण थालेको हो। ३६ जनामा एन्टिजेन परीक्षण गर्दा तीनजनामा कोरोना पोजेभिट देखिएको फोकल पर्सन जोशीले जानकारी दिए।
 

See More On

सुझावित समाचार