जमुनाह नाकामा सुरक्षा जाँचपासमा खेलाँची : लगेज स्क्यानर सात वर्षदेखि बिग्रिएर थन्कियो, छामछुम गरेर जाँचपास

बुधबार, २२ जेठ, २०८२
डिजिटल संस्करण
जमुनाह नाकामा सुरक्षा जाँचपासमा खेलाँची : लगेज स्क्यानर सात वर्षदेखि बिग्रिएर थन्कियो, छामछुम गरेर जाँचपास

सात वर्षदेखि बिग्रिएर जमुनाह भन्सार कार्यालयको यात्रु शाखामा थन्क्याइएको स्क्यानर

फितलो सुरक्षाको फाइदा उठाउँदै भन्सार नाकाबाट हातहतियार, लागुऔषधजस्ता अवैध सरसामान ओसारपसार हुन सक्ने जोखिम उच्च हुन्छ । तर, नेपालगन्जको जमुनाह भन्सार नाकाको ‘लगेज स्क्यानर मेसिन’ सात वर्षदेखि बिग्रिएर थन्किँदा छामछुम पारेर सरसामान जाँचपास गर्ने गरिएको छ । हातहतियार, लागुऔषधजस्ता वस्तु छामेर पत्ता लगाउन सकिँदैन ।
नौ वर्षअघि एक करोडमा स्क्यानर किनिएको थियो । तर, सञ्चालनमा आएको दुई वर्षमै बिग्रिएपछि मर्मत हुन नसकेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए । 

‘हातहतियार, लागुऔषध र अन्य वस्तु छामेर पत्ता लगाउन सकिँदैन । स्क्यानर मेसिन भएको भए सबै वस्तु छर्लङ्ग हेर्न र देख्न सकिन्थ्यो,’ उनले भने, ‘छामेर जाँचपास गर्न सुरक्षाकर्मीलाई समस्या छ ।’ बिग्रिएको स्क्यानर मेसिन भन्सार कार्यालयको यात्रु शाखामा छ । 

मर्मत गर्न महँगो पर्ने भएकाले थन्क्याएर राखिएको पौडेलले बताए । ‘मर्मतका लागि वितरक कम्पनीलाई भनेका थियौँ । ४०–५० लाख लाग्ने भएपछि थन्क्याएर राख्नुको विकल्प भएन,’ उनले भने । 

अन्तर्राष्ट्रिय सीमानाकाको संवेदनशीलतालाई बुझेर भन्सार परीक्षणलाई पारदर्शी, सरल तथा सहज बनाउन भन्सार विभागले ०७४ मा नेपालगन्ज भन्सार कार्यालयलाई ‘लगेज स्क्यानर’ मेसिन खरिद गरी पठाएको थियो । दैनिक हजारौँको संख्यामा सर्वसाधारण यात्रु नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ पैदल आउजाउ गर्ने उक्त नाकामा मेसिन बिग्रिँदा भन्सार कर्मचारी र सुरक्षाकर्मीले सामान हातैले छामछुम पार्दै जाँच गर्दै आएको पौडेलले बताए । ‘बिग्रेको स्क्यानर मेसिनलाई मर्मत सम्भार गर्न धेरै बजेट लाग्ने भएकाले नयाँ स्क्यानर मेसिन खरिद र यात्रु कक्षलाई सुधारका लागि भन्सार विभागलाई जानकारी गराइएको छ,’ उनले भने । 

नेपालतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले छामछुम गरी छुट्टाछुट्टै जाँचपास गर्छन् । लगेज स्क्यानर मेसिन नहुँदा यात्रुको झोला जाँचपासमा समस्या भएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज इन्स्पेक्टर उपेन्द्रबहादुर बुढाथोकीले बताए । उनले स्क्यानर मेसिन मर्मत नहुँदा छामेर जाँचपास गर्दै आएको बताए । ‘मेसिन भएको भए छिटोछरितो र प्रभावकारी हुन्थ्यो । के सामान ल्याएको छ भन्ने मेसिनमा स्पष्ट देखिन्थ्यो,’ उनले भने, ‘छामेर त कुन सामान हो भन्ने पत्ता लगाउन मुस्किल पर्छ । झन्झटिलो पनि उत्तिकै छ ।’ मेसिन सञ्चालन नहुँदा सामान जाँचमा बढी समय लाग्दा गन्तव्यमा छिट्टै पुग्नुपर्ने बाध्यतामा रहेका यात्रुहरूले पनि झन्झट व्यहोर्नु परिरहेको बुढाथोकीको भनाइ छ ।

तर, दशगजाको दुई सय मिटर दक्षिणमा भारतीय सीमा सशस्त्र बल (एसएसबी) ले लगेज स्क्यानर मेसिनमार्फत मालसामानको जाँचपास गर्छ । नेपालबाट भारत जाने र नेपाल आउने हरेक व्यक्तिको झोला स्क्यानर मेसिनमार्फत जाँचपास गर्दै आएको एसएसबीले महिला तथा पुरुषको छुट्टाछुट्टै लाइन बनाउने गरेको कोहलपुर नगरपालिका– ११ का विकास शर्माले बताए । ‘हरेक व्यक्तिको झोला स्क्यानर भएपछि मात्र एसएसबीले आफ्नो देशमा भित्रिन र देशबाट बाहिरिन दिन्छ,’ उनले भने । 
 

सुझावित समाचार