मधेशमा चीन सरकारको सहयोग

धनुषाका विद्यालय र प्रादेशिक अस्पताल जनकपुरलाई सामाग्री हस्तान्तरण

मंगलबार, २१ जेठ, २०८२
डिजिटल संस्करण

चीन ग्रामीण विकास प्रतिष्ठान (सिएफआरडी) ले जनवादी गणतन्त्र चीनको नेपालस्थित दूतावासको आर्थिक सहयोग तथा सिएफआरडीको साझेदारीमा मंगलवार धनुषाका दुई सामुदायिक विद्यालयलाई डेस्कबेन्च, स्मार्टबोर्डलगायतका सामाग्री हस्तान्तरण गरेको छ । यस्तै, प्रादेशिक अस्पताल जनकपुरको बर्थिग शाखामा बिरामीको लागि पाँच थान एसी लगाइदिएको छ  । मधेश प्रदेशमा शैक्षिक पूर्वाधार र सामुदायिक कल्याण सुधार गर्ने उद्देश्यले परियोजना ल्याइएको आयोजकले बताएको छ । 

‘भविष्य उज्यालो बनाउने’ शिक्षा परियोजनाअन्तर्गत जनकपुर उपमहानगरपालिका ९ र १७ स्थित सरस्वती मावि नामकै दुई विद्यालयलाई पठन पाठनमा सहयोग पुग्ने गरी विविध सामाग्री प्रदान गरिएको हो । 

वडा नम्बर ९ स्थित सरस्वती माविमा सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल, चीन र भारत जस्ता दुई ठूला शक्तिशाली देशको बिचमा रहेको र दुई देशको माया पाइरहेको बताए । यस अवसरलाई नेपालले सदुपयोग गर्नु पर्ने उनको भनाइ छ ।

कार्यक्रममा सांसद जुली महतोले मधेश प्रदेशमा चीन सरकारले सहयोग सुरुवात गरेकोमा धन्यवाद व्यक्त गरिन । सिएफआरडी नेपाल कार्यालयकी निर्देशक सु जोउ झी च्याङले स्थानीय सरकार र समुदायले देखाएको विश्वासप्रति आभार प्रकट गरिन् । यस्ता परियोजनाहरूले नेपालका ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरिन् । 

सामग्री हस्तान्तरण कार्यक्रममा चिनियाँ दूतावासका व्यापार परामर्शदातासिएयु, सिएफआरडी नेपाल कार्यालयकी निर्देशक सु जोउ र  मधेसी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजयकुमार दत्तलगायतको उपस्थिति थियो । 

प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले आरामदायी सुत्केरी अभियान नामक परियोजनाअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको बर्थिंग सेन्टरमा जडान गरिएको एसी हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । 

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको सन्दर्भमा आयोजित उक्त कार्यक्रम दुई राष्ट्रबिचको मित्रता र सहकार्यको प्रतीकको रूपमा उक्त सहयोगलाई लिइएको थियो । 

सन् २०१६ देखि २०२५ सम्म सिएफआरडीले ३० हजारभन्दा बढी विद्यार्थीलाई ‘लभ प्याकेज’ र ‘वार्म प्याकेज’ प्रदान गरेको छ । सन् २०२४ मा यूएनडिपी र सिएफआरडीको सहकार्यमा २५ विद्यालयका १८ हजार विद्यार्थी र नौ हजार महामारी प्रभावित परिवारलाई जीविकोपार्जन सहयोग गरिएको थियो । सन् २०१८ को चक्रवात तथा सन् २०२४ को आगलागीपछिको राहत वितरण तथा कोभिड महामारीका बेला सरसफाइ, आइसोलेसन केन्द्र र अक्सिजन स्टेसन निर्माणमा पनि चीनले सहयोग गरेको थियो ।

सुझावित समाचार