हरियाणाले गर्‍यो नेपालका कप्तान घनश्यामलाई रिटेन

भारतको कबड्डी प्रो लिगको च्याम्पियन हरियाणा स्टिलर्सले नेपालका कप्तान घनश्याम रोकामगरलाई १३ लाख भारुमा रिटेन गर्‍यो

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण

भारतको प्रो कबड्डी लिग टोली हरियाणा स्टिलर्सले आइतबार नेपाली राष्ट्रिय पुरुष टोलीका कप्तान घनश्याम रोकामगरलाई रिटेन गरेको छ । हरियाणाले १२औँ प्रो कबड्डी लिगका लागि घनश्यामलाई १३ लाख भारु (२० लाख नेपाली) रुपैयाँमा दुई वर्षका लागि रिटेन गरेको जनाएको छ । घनश्याम प्रो कबड्डी लिगमा आबद्ध हुने नेपाली खेलाडीमध्ये सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् ।

गत वर्ष हरियाणाले उपाधि जितेको थियो ।  घनश्याम रेइडर्सको भूमिमा खेल्ने गर्छन् । २२ वर्षीय उनी गत माघमा भएको नेपाल कबड्डी लिग (एनकेएल)मा काठमाडौं माभरिक्सका मार्की खेलाडी थिए । उनले दुई वर्षअघि हरियाणा स्टिलर्सबाटै खेलेका थिए । पहिलो सिजन उनी उपविजेता बने । गत वर्ष उनीसँगै अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि हरियाणाले च्याम्पियनसिप ट्रफी उचालेको थियो ।

घनश्याम १०औँ संस्करणमा हरियाणामा १३ लाख भारुमा अनुबन्ध भएका थिए । उनले १०औँ संस्करणमा चार टोलीविरुद्ध प्रतिस्पर्धा गर्न अवसर पाए । उनले तेलगु टाइटन्स, गुजरात जाइन्ट्स, यु मुम्बा र बेंग्लोर बुल्सविरुद्ध खेलेका थिए । नेपाली खेलाडीमध्ये सञ्जय श्रेष्ठ र जयबहादुर बोहराले समान आठ लाख भारु पाएका थिए । लालमोहर यादव र नागेश्वर चौधरीले समान १० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए ।

क्याटेगोरी ‘सी’का घनश्याम
च्याम्पियन हरियाणाले क्याटेगोरी ‘सी’का नेपाली टोलीका कप्तान घनश्यामलाई फाइनल बिड म्याच (एफबिएम) कार्डमार्फत रिटेन गरेको हो । एफबिएमबाट प्रत्येक टोलीले रिलिज गरेका खेलाडीलाई फाइनल बिड रकममा पुनः टिममा भिœयाउन सक्ने प्रावधान रहन्छ । एफबिएममा यसअघि एक वर्षका लागि मात्र राख्न पाइने प्रावधान थियो । र, यसपटकदेखि दुई वर्षसम्म पनि रिटेन गर्ने नियम बनाएको हो । जसका कारण घनश्याम पुनः च्याम्पियन टोलीमै समावेश भएका हुन् । नेपालबाट अक्सनमा घनश्यामसहित गणेश कार्की, सुशील चुनारा र रामु टमाटाको नाम सिफारिस थियो । 

सुझावित समाचार