मूल्य अभिवृद्धि वृद्धिदर १.९९ प्रतिशत रहने अनुमान

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

गत आर्थिक वर्ष खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर ३.२३ प्रतिशत रहेकामा चालू आवको यस्तो वृद्धिदर १.९९ प्रतिशत रहने अनुमान गरिएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, ‘निर्माण क्षेत्रमा सुधार भएका र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा वृद्धि भएकाले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान छ । गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रको योगदान ०.४८ प्रतिशत रहेकामा चालू आवमा यस्तो योगदान ०.४६ प्रतिशत रहने अनुमान छ ।’

विगत दुई आर्थिक वर्षमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धि ऋणात्मक रहेकामा चालू आवमा धनात्मक रहने र वनस्पति तेल, प्लाइउड, प्लास्टिकका पाइप ‘फिटिङ’, पेय पदार्थ, साबुनलगायत वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धि, भटमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोइलालगायत कच्चा पदार्थको आयातमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारण उद्योग क्षेत्रको वृद्धिमा सुधार हुने सरकारले जनाएको छ ।

सर्वेक्षणमा भनिएको छ, ‘गत आर्थिक वर्ष उत्पादनमूलक उद्योगको उत्पादन २.०२ प्रतिशतले ऋणात्मक रहेकामा चालू आवमा ३.७८ प्रतिशतले वृद्धि हुने आउँछ । पछिल्लो दशक उत्पादनमूलक उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर औसत २.९४ प्रतिशत रहेको छ ।’ 

यसैगरी, गत आवमा कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान ४.९३ प्रतिशत रहेकामा चालू आवमा ४.९८ प्रतिशत रहने अनुमान छ । आर्थिक गतिविधि विस्तार भएसँगै उत्पादनमूलक उद्योगको उत्पादन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेकाले यस क्षेत्रको योगदान बढेको सरकारको भनाइ छ ।

सुझावित समाचार