बाढीपहिरोसहित विपतबाट २० लाख जनसंख्या प्रभावित हुने आकलन

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

सरकारले यसपालि बर्खामा बाढीपहिरोलगायत विपत्का घटनाबाट साढे चार लाख घरपरिवारका २० लाख जनसंख्या प्रभावित हुने आकलन गरेको छ । गृहमन्त्री रमेश लेखक अध्यक्षताको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठकले बुधबार स्वीकृत गरेको मनसुन पूर्वतयारी कार्ययोजनामा चार लाख ५७ हजार १४५ घरपरिवारका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन छ । प्रभावितमध्ये ५२ प्रतिशत (१० लाख २९ हजार) महिला र ४८ प्रतिशत (नौ लाख ६९ हजार) पुरुष छन् । महिलामा पनि प्रजनन उमेर समूहका ३६ हजार छन् ।

कार्ययोजनाअनुसार प्रभावित जनसंख्यामध्ये १० प्रतिशत अर्थात् कम्तीमा दुई लाख प्रत्यक्ष प्रभावित हुन सक्छन्, जसलाई उद्धार तथा राहत उपलब्ध गराउनुपर्ने हुन सक्नेछ ।  विपत् व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले औसतभन्दा धेरै वर्षाको आकलन रहेकाले बाढीपहिरोका घटना बढ्न सक्ने बताए । ‘यसअघिका बर्खामा क्षतिको विवरण र जोखिम हेरेर क्षति बढ्ने आकलन गरेका हौँ,’ उनले भने, ‘त्यही भएर पूर्वतयारी थाल्न र घटना भइहाले उद्धार, राहत र पुनर्स्थापनामा जोड दिने निर्णय कार्यकारी समितिले गरेको छ ।’ 

गत वर्ष चार लाख घरपरिवारका १८ लाख जनसंख्या प्रभावित हुने प्रक्षेपण गरिएको थियो । तर, मध्य असोजकै बाढीपहिरोमा ११ हजार घरपरिवार विस्थापित भएका थिए भने २५ लाख जनसंख्या प्रभावित भए । पोहोर बर्खामा बाढीपहिरोबाट मात्र २० हजार घर क्षतिग्रस्त भएका थिए, जुन पुनर्निर्माण गर्नुपर्नेछ । बाढीपहिरो र चट्याङमा ५३५ जनाले ज्यान गुमाउँदा ६६ बेपत्ता भएका थिए । 

लुम्बिनी, गण्डकी र कर्णाली बढी जोखिममा
यसपटक मनसुनजन्य विपत्बाट सबैभन्दा बढी जोखिममा लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश देखिन्छन् । विपत् व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले प्रभावित जनसंख्याका हिसाबमा लुम्बिनीपछि बागमती रहे पनि प्रत्यक्ष प्रभावितमा गण्डकी र कर्णाली अगाडि हुन सक्ने बताए । देशभर सरदरभन्दा बढी वर्षा हुने आकलन गरिए पनि कर्णालीको पूर्वी, लुम्बिनीको उत्तरी र गण्डकीका अधिकांश भूभागमा अत्यधिक पानी पर्न सक्ने चेतावनी जल तथा मौसम विज्ञान विभागले दिइसकेकाले बाढीपहिरोको बढी जोखिम पनि यी तीन प्रदेशमा बढी देखिन्छ । ‘लुम्बिनी तराई क्षेत्र भएकाले त्यहाँ बाढीको बढी जोखिम हुन्छ, गण्डकी र कर्णालीमा पहिरोको जोखिम छ, त्यहाँ पानी पनि धेरै पर्ने भनिएकाले घटना बढ्न सक्छन्,’ केसीले भने । यसपटक पनि वनजंगलमा डढेलो लागेकाले पहिरोको जोखिम बढेको छ । 

कार्यकारी समितिका निर्णय

  • विशेष अवस्थामा तीन दिनअघि नै आकस्मिक बुलेटिन जारी गर्ने
  • अत्यधिक वर्षाको चेतावनी पाँच दिनअघि नै जारी गर्ने 
  • मनसुनअघि नै तीनवटा हेलिकोप्टर तयारी अवस्थामा राख्ने
  • नेपाल प्रहरीबाट तालिमप्राप्त २७६ र पौडिन जान्ने दुई हजार ८२३ जनशक्ति
  • सशस्त्र प्रहरीले हरेक वडामा २५ जनाको विपत् सूचक समूह बनाउने, विपत् सूचकको संख्या एक लाख ६८ हजार ५७५ पुर्याउने
  • राष्ट्रिय, प्रादेशिक र स्थानविशेषमा रहेक आपत्कालीन गोदाम घरमा खाद्यान्नसहित अत्यावश्यक सामग्री सञ्चिति राख्ने 
  • प्रदेश सरकारले तराईका जिल्लामा कम्तीमा पाँचवटाका दरले रबरबोट सुरक्षा निकायलाई उपलब्ध गराउने
  • सडक विभागमार्फत १२ वटा बेलिब्रिज तयारी राख्ने, सम्भावित पहिरोको नजिकै पर्याप्त इन्धन र चालकसहित हेभी इक्युप्मेन्ट र डोजर तयारी अवस्थामा राख्ने

सुझावित समाचार