आइपिएल–२०२५ : लखनउका कप्तान ऋषभलाई ४८ लाख जरिवाना

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण
  • रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध स्लो बलिङ गरेका कारण लखनउ जायन्टका कप्तान ऋषभ पन्तसँगै सबै खेलाडीलाई कारबाही 

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटका कारण ४८ लाख रुपैयाँ जरिवाना गराएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत लिगको अन्तिम खेलमा लखनउले रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध स्लो बलिङ गरेको थियो । प्रतिस्पर्धामा बेंग्लोरले लखनउमाथि ६ विकेटको जित निकाली दोस्रो स्थान रक्षा गर्यो । लखनउका विकेटकिपर तथा कप्तान ऋभषले खेल आफ्नो पक्षमा ल्याउन बारम्बार खेलाडीसँग वार्ता तथा फिल्डिङ सेटिङमा ढिलाइ गरेको बिसिसिआईले जनाएको छ । यसकारण खेल निर्धारित समयमा समाप्त भएन । बिसिसिआईले लखनउका कप्तान ऋषभलाई भारु ३० लाख रुपैयाँ जरिवाना गराएको हो । 

यस सिजन आइपिएलमा उनको यो तेस्रो गल्ती हो । यद्यपि, बिसिसिआईले खेल खेल्न प्रतिबन्ध लगाएको छैन । गत वर्षको आइपिएलमा मुम्बई इन्डियन्सका हार्दिक पान्ड्या यस्तै गल्ती गर्दा एक खेल प्रतिबन्धमा परेका थिए । आइपिएलमा यसपटक खेलाडीमाथिको कारबाही लचिलो बनाइएको छ । २०२५ को संशोधित नियमअनुसार खेलाडीलाई रकम मात्र जरिवाना गरिने उल्लेख छ ।

‘आइपिएलको पछिल्लो नियमअनुसार लखउनका कप्तान र खेलाडीलाई कारबाही गरिएको छ,’ आइपिएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बेंग्लोरविरुद्धको खेलमा लखनउका कप्तानसँगै ११ खेलाडीलाई १८ लाख रुपैयाँ र खेलबाट आउने ५० प्रतिशत रकमसमेत कटौती गरिएको छ । ऋषभले बेंग्लोरसँगको प्रतिस्पर्धामा ६१ बलमा ११८ रनको योगदान दिएका थिए । 

बेंग्लोरको सामना गर्दै पन्जाब 
आइपिएलको पहिलो क्वालिफायरमा बिहीबार पन्जाब किंग्स र बेंग्लोर भिड्दै छन् । लिग चरणको अन्तिम खेलसँगै आइपिएलको क्वालिफायर र एलिमिनेटर खेल्ने टोलीको टुंगो लागेको हो । पन्जाब शीर्ष र बेंग्लोर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका हुन् । लिगको एलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्नेछन् । क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित टोलीले एलिमिनेटर खेलको विजेतासँग फाइनलका प्रवेशका लागि खेल्ने अवसर पाउनेछ ।

कोहलीले पूरा गरे टी–२० मा नौ हजार रन
बेंग्लोरका पूर्वकप्तान विराट कोहलीले लखनउविरुद्धको खेलमा टी–२० फम्र्याटमा नौ हजार रन पूरा गरेका छन् । कोहलीले टी–२० मा एउटै टोलीबाट प्रतिस्पर्धा गरिरहेका छन् । आइपिएलको पहिलो संस्करणदेखि उनी बेंग्लोरमै आबद्ध छन् । लखनउविरुद्धको खेलमा २४ रन पूरा गरेपछि उनले टी–२० मा नौ हजार रन बनाएका हुन् । उनले सन् २००८ मा बेंग्लोरबाट आइपिएल करिअर सुरु गरेका हुन् । कोहली आइपिएलमा सर्वाधिक अर्धशतक बनाउने खेलाडीसमेत बनेका छन् । 

सुझावित समाचार