प्रधानमन्त्री ओलीले ‘बहिष्कार’ गरे मानव अधिकार आयोगको रजतजयन्ती

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण
  • १५ जेठमा काठमाडौं नियन्त्रणमा लिन एमाले कार्यकर्तालाई उत्तेजनापूर्वक निर्देशन दिएपछि आयोगले ‘विधिको शासनविपरीत’ अभिव्यक्ति नदिन गराएको थियो सचेत

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सव कार्यक्रम नै ‘बहिष्कार’ गरेका छन् । आयोगको रजतजयन्ती (२५औँ वार्षिकोत्सव)को अवसरमा आयोजित कार्यक्रममा मंगलबार उनलाई प्रमुख अतिथिका रूपमा बोलाइएको थियो । सोमबारसम्म कार्यक्रममा जाने तय भएकोमा ओलीले मंगलबार बिहान कार्यव्यस्तता देखाएर रद्द गरेका हुन् । मंगलबारै उनी अन्य तीन कार्यक्रममा भने सहभागी भएका थिए । 

आइतबार पार्टीको प्रशिक्षण कार्यक्रममा ओलीले ‘१५ गते ११ देखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्दै त्यसको तयारीमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले आन्दोलनमा कुनै ‘प्रोटोकल’ नहुने भनेरसमेत कार्यकर्तालाई ‘उत्तेजित र उग्र’ बन्न उक्साएका थिए । राजावादीहरूले १५ जेठका लागि पहिल्यै तय गरेको आन्दोलनलाई काउन्टर दिने गरी ओलीको निर्देशन आएको थियो । त्यसको चौतर्फी विरोध भएपछि भोलिपल्ट सोमबार मानव अधिकार आयोगले पनि प्रेस विज्ञप्ति जारी गरेर ओलीको अभिव्यक्ति ‘विधिको शासनविपरीत भएको र निषेधलाई प्रश्रय गरेको’ भन्दै सचेतसमेत गराएको थियो । 

आफ्नो आलोचना भएपछि प्रधानमन्त्री आयोगको कार्यक्रममा नगएको स्रोत बताउँछ । ‘प्रधानमन्त्रीकै प्रमुख आतिथ्यमा रजतजयन्ती मनाउन सबै तयारी गरेका थियौँ, प्रधानमन्त्रीलाई आयोगका समस्या सुनाउनेसमेत योजना थियो,’ आयोगका एक उच्च अधिकारीले भने, ‘बिहान ८ बजे एक्कासि कार्यव्यस्तताका कारण आउन नसक्ने जानकारी पायौँ, सायद प्रधानमन्त्रीज्यूलाई सोमबार आयोगले जारी गरेको विज्ञप्ति मन परेन होला ।’ 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारसम्बन्धी आयोगका सिफारिस सरकारले कार्यान्वयन नगर्दा देशमा दण्डहीनताले प्रश्रय पाएको बताएका छन् । २५औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले आयोगले गरेका सिफारिसहरू कार्यान्वयन न्यून रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘क्षतिपूर्तिको हकमा केही कार्यान्वयन भए पनि कारबाहीका लागि गरिएका सिफारिसहरू कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाएको छ ।’ 

आयोगमा नगएका प्रधानमन्त्री तीन सार्वजनिक कार्यक्रममा थिए सरिक  
राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रममा अनुपस्थित प्रधानमन्त्री केपी ओली मंगलबार तीन सार्वजनिक कार्यक्रममा सरिक भएका छन् । उनी राष्ट्रिय सतर्कता केन्द्र, लगानी बोर्ड र जल तथा मौसम विज्ञान विभागका कार्यक्रममा सरिक भएका हुन् । दिउँसो २ बजे उनी प्रधानमन्त्री कार्यालयमै राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रममा सरिक भए ।

त्यस्तै, सिंहदरबारस्थित कार्यालयमै लगानी बोर्डको ६३औँ बैठकमा पनि सहभागी भएका थिए । प्रधानमन्त्री ओलीले मंगलबार नै जल तथा मौसम विज्ञान विभागमा पुगेर आसन्न मौसमको पूर्वानुमान र सम्भावित जोखिम न्यूनीकरणका विषयमा जानकारी लिएका थिए । विभागका महानिर्देशक कमलराम जोशीले सम्भावित वर्षाको पूर्वानुमानबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बताए ।

सुझावित समाचार