अहिले वर्तमान अवस्थामा गणतन्त्र र संघीयताविरोध भइरहेकाले त्यसको रक्षा गर्न प्रगतिशील पत्रकारहरू एक हुनुपर्ने बताइएको छ।
प्रेस सेन्टर उदयपुरले नेपाल पत्रकार महासंघ उदयपुरको शाखा कार्यालयको सभाहलमा २३औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘गणतन्त्र र जनपक्षीय पत्रकारितासम्बन्धी अन्तरसंवाद कार्यक्रम’मा बोल्ने पत्रकारहरूका अगुवाहरूले यस्तो बताएका हुन्।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले अबको पत्रकारिता गणतन्त्र र संघीयताको पक्षमा अझै सशक्त बनाउनुपर्ने समय आएको बताएका छन्। कार्यक्रममा बोल्दै जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय उपाध्यक्ष विश्वराज तामाङले पत्रकारिताको क्षेत्रमा जटिलता बढेको भन्दै गणतन्त्र र संघीयताको पक्षमा कलम चलाउने कृष्ण सेन ‘इच्छुक’ लाई सम्झिए।
यस्तै, प्रेस युनियन उदयपुरका अध्यक्ष पर्शुराम थापाले अहिलेको अवस्थामा देशमा गणतन्त्र र संघीयताविरोधीहरू बढेकाले अबको पत्रकारिता गणतन्त्र र संघीयताको पक्षमा हुनुपर्ने बताए। यसैगरी, समाजवादी प्रेस संगठन कोशी प्रदेश सहसचिव सुखीलाल चौधरीले नेपाली जनताले लामो संर्घष गरेर ल्याएको गणतन्त्र र संघीयता देशका गणतन्त्रवादी नेताहरूको कारण खतरामा परेको भन्दै त्यसको विपक्षमा हुनुपर्ने बताए। उनले भने, ‘गणतन्त्र र संघीयता जोगाउनुपर्ने वेला आएको छ। हाम्रो कलम अब त्यतातिर पनि चल्नुपर्छ।’
यसैगरी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तुलसीप्रसाद कोइरालाले स्वर्गीय कृष्ण सेना इच्छुकलाई सम्झना गर्दै भने, ‘गणतन्त्र ल्याउन ठुलो योगदान गर्ने साहित्यकार तथा तथा पत्रकार इच्छुकको सपना भुल्नुहुँदैन। त्यसको लागि हाम्रो कलम गणतन्त्र र संघीयताको पक्षमा चल्नुपर्छ। 'प्रेस सेन्टरका केन्द्रीय सदस्य भोटराज राईले अहिलेको पत्रकारिता नेतामुखी, ठेकेदारमुखी, मालिकमुखी हुँदै गएकाले दुःख व्यक्त गरे। उनले भने, ‘पत्रकारितालाई जनतामुखी बनाउने वेला आएको छ।’
यता प्रेस सेन्टरकै पूर्वकेन्द्रीय सदस्य कार्यक्रमका विशेष अतिथि हरिकुमार राईले जनपक्षीय पत्रकारिताको लागि कृष्ण सेन प्रेरणाको स्रोत भएको भन्दै गणतन्त्र ल्याउन लेख्ने पत्रकार कृष्ण सेना राज्यबाट मारिन दुखद भएको बताए । उनले भने, ‘गणतन्त्र संकटमा छ । त्यसको पक्षमा हाम्रो समाचारहरु केन्द्रित हुनुपर्छ ।’
कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै नेपाल पत्रकार महासंघ उदयपुरका शाखाका अध्यक्ष भक्तिविलास पोखरेलले व्यवसायिक पत्रकारहरु अब एक हुँदै सशक्त हुनुपर्ने वेला आएको बताए । उनले भने, ‘साहित्यकार कृष्ण सेन इच्छुक परिवर्तनकै पक्षमा कलम चलाउँदा राज्यबाटै हत्या भयो । आज हामी यसरी स्मृति दिवस मनाइरहेका छौँ । अहिलेसम्म मृत्यु भएको राज्यले यकि गर्न सकेको छैन । राज्य पत्रकारको पक्षमा निर्मम हुन्छ । हामी एक हुनुपर्छ । पत्रकार आचरसंहिताको पालाना गर्नु पर्छ ।’
प्रमुख अतिथिका रुपमा बोल्दै बरिष्ठ पत्रकार कौशल चेमजोङले गणतन्त्र विरोधीहरु प्रतिगामी शक्तिको रुपमा सलबलाएको बताए । उनले भने, ‘गणतन्त्र र संघीयताको पक्षमा प्रगशिल रुपमा हाम्रा कलमहरु चल्नुपर्छ । हिजो स्र्वर्गीय कृष्ण सेन ‘इच्छुक’ शैलीमा जसरी थियो । आज पनि त्यसैगरी चल्नुपर्ने वेला आएको छ ।’
प्रेस सेन्टर उदयपुरका अध्यक्ष अभिमन्यु लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुका पेशागत विभिन्न संगठनका नेतृत्व र श्रमजीवि पत्रकारहरुको उपस्थिति रहेको थियो । आज जेठ १३ गते २०५९ सालमा तत्कालिन राज्यबाट विद्रोही नेकपा माओवादीको आरोपमा पक्राउ गरी हत्या गरिएका पत्रकार कृष्ण सेन इच्छुकको सम्झना प्रेस सेन्टर नेपालले देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । आजै नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवससमेत परेको छ । दिवसको अवसरमा उदयपुरमा शुभकानमा आदनप्रदानसमेत गरिएको थियो ।