भिजिट भिसा प्रकरणले तात्यो संसद्, गृहमन्त्रीको राजीनामा ‘बटमलाइन’

मंगलबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै माओवादीलगायतका प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउँदै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन्। उनीहरूले छानबिन समिति बनाएर गृहमन्त्रीमाथि अनुसन्धान गर्नसमेत माग गरेका छन्।

प्रतिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्न समय दिएका थिए। पुनले भिजिट भिसा प्रकरण मानव तस्करीसँग जोडिएको उल्लेख गर्दै विमानस्थलभित्रकै भ्रष्टाचार राजनीतिक संरक्षणविना सम्भव नरहेको बताए।

सो प्रकरणमा गृहमन्त्री प्रत्यक्ष जोडिएको देखिएकाले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्न उनले सुझाव दिए। पुनले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धान हुने वातावरण नबनेसम्म सदन चल्न नसक्ने स्पष्ट पारे।

त्यस्तै, रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने बताए। उनले गृहमन्त्री लेखक पदमा रहेसम्म निष्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्न नसकिने भन्दै राजीनामा दिनुपर्ने जिकिर गरे।

निष्पक्ष छानबिनका लागि समिति गठन नभएसम्म सदन चल्न नदिने उनले बताए। गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीले सदनमा विरोध गरेपछि सभामुख घिमिरेले आशनग्रहण गरेर सहज रूपमा सदन चल्ने वातावरण बनाउन आग्रह गरेका थिए।

प्रतिपक्षीको विरोधकै बिच कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बोल्नका लागि समय माग गरेपछि सभामुख घिमिरेले बोल्न समय दिँदा विपक्षी दलहरू नाराबाजीमा नै उत्रिएका थिए। प्रतिपक्षी दलले निरन्तर नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ।

सुझावित समाचार