आइपिएल–२०२५ : मुम्बईलाई हराउँदै पन्जाब शीर्ष स्थानमा

मंगलबार, १४ जेठ, २०८२
डिजिटल संस्करण

पन्जाब किंग्सले सोमबार मुम्बई इन्डियन्समाथि सात विकेटको सानदार जित निकाल्दै १८औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थान कब्जा जमाएको छ । आइपिएलअन्तर्गत मंगलबार रोयल्स च्यालेन्जर्स बेंग्लोर र लखउनबिचको नतिजाले पन्जाब शीर्ष स्थानमा रहने वा नहरने छिनोफानो हुनेछ । बेंग्लोरले लखनउलाई हराउँदै पन्जाबको शीर्ष स्थान गुम्न सक्छ । लखनउको जितले पन्जाब शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुग्नेछ ।

जयपुरमा पहिलो ब्याटिङ गरेको मुम्बईले पन्जाबविरुद्ध २० ओभरमा सात विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । प्रत्युत्तरमा पन्जाबले १८.३ ओभरमा तीन विकेटको नोक्सानीमा एक सय ८७ रन जोड्यो । जितसँगै पन्जाबले १४ खेलका सर्वाधिक १९ अंक बनायो । दोस्रो स्थानमा गुजरातको १८ तथा तेस्रो स्थानको बेंग्लोरले १७ अंक जोडेको छ ।

मुम्बई १६ अंकका साथ चौथो स्थानमा सीमित भयो । पन्जाबको जितमा प्रियांश आर्याले ३५ बलमा नौ चौका र दुई छक्का प्रहार गरी ६२ रन बनाए । जोस इगिल्सले ४२ बलमा नौ चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ७३ रनको योगदान दिए । कप्तान श्रयशले १६ बलमा २६ रन बनाए ।

सूर्यकुमारको अर्धशतक
यसअघि ब्याटिङ गरेको मुम्बईले मध्यम प्रदर्शन गरेको थियो । शीर्ष स्थानमा पुग्ने अवसर खेलका रूपमा हेरिएको प्रतिस्पर्धामा मुम्बईले पहिलो विकेटका लागि गतिलो साथ पाएको थियो । रायन रिकल्टन र रोहित शर्माले पहिलो विकेटका लागि ५.१ ओभरमा ४५ रनको साझेदारी गरेका थिए । रायनले २० बलमा पाँच चौकाको सहयोगमा २७ रन जोडेका थिए । रोहितले सूर्यकुमार यादवसँग दोस्रो विकेट निमित्त २६ बलमा ३६ रन जोडेर मुम्बईको रनरेट उकासेका थिए । 

तर, मुम्बईले महत्वपूर्ण क्षणमा फर्ममा रहेका खेलाडी रोहितको विकेट गुमायो । इनिङ्सको ९.३ ओभरमा रोहितले आफ्नो विकेट हर्षित सिंहलाई दिनुअघि २१ बलमा दुई चौका र एक छक्का प्रहार गरी २४ रनको योगदान दिए । विल ज्याक र तिलक बर्माले मध्यक्रममा गतिलो योगदान दिन सकेनन् । यी दुवै ब्याट्सम्यान आउट हुँदा मुम्बई १२.३ ओभरमा १०४/३ को प्रदर्शन गर्‍यो । 

त्यसपछि कप्तान हार्दिक पाण्ड्या र सूर्यकुमारबिच पाँचौँ विकेटका लागि २३ बलमा ४४ रनको साझेदारी हुँदा मुम्बई १६.२ ओभरमा १५०/५ को स्थितिमा पुग्यो । हार्दिकले १५ बलमा समान दुई चौका र छक्का प्रहार गरी २६ रन जोडे । इनिङ्सको अन्तिम बलमा सूर्यकुमारले विकेट गुमाए । उनले ३९ बलमा ६ चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ५७ रनको योगदान दिए । पन्जाबका लागि अर्सदीप सिंहले २८ रनमा दुई विकेट लिए । मार्कोस जान्सेनले ३४ रन खर्चेर दुई नै विकेट हात पारे ।

धोनीले सन्न्यास लिन हतार नगर्ने

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले सन्न्यास तत्काल नलिने जनाएका छन् । चेन्नइले आइपिएलको आफ्नो अन्तिम खेलमा गुजरात टाइटन्समाथि सानदार जित निकालेपछि धोनीले सन्न्यास लिने अनुमान थियो । तर, धोनीले आइपिएलबाट सन्न्यासको घोषणा हतारमा नगर्ने प्रस्ट पारेका छन् । ‘अर्को सिजन आइपिएल खेल्दिनँ पनि भन्न सक्दिनँ,’ उनले भने, ‘यसको बारेमा अझै म चार–पाँच महिना समय छ ।’ 

आइपिलको थकान मेटाउन तत्काल राँची फर्कने उनले योजना बनाएका छन् । ‘सुरुमा मलाई ब्रेक चाहिएको छ, छिट्टै घर राँची फर्कनेछु, जहाँ परिवारसँग समय बिताउनेछु,’ धोनीले भने । आइपिएलको १९औँ संस्करण सुरु हुँदा उनी ४५ वर्षका हुने छन् । आइपिएलमा यो उमेरसम्म प्रतिस्पर्धा गरेको रेकर्ड छैन । धोनीले फिट रहँदासम्म प्रतिस्पर्धा गर्ने जनाए । ‘एक खेलाडी फिट रहँदासम्म खेल्ने गर्छन्, म प्रत्येक बर्ष आफूलाई फिट बनाउने प्रयास गर्छु,’ उनले भने, ‘यो व्यावसायिक खेल हो, यहाँ खेलाडी प्रदर्शनको आधारमा मात्र टिक्छ, नामको भरमा टोलीले राख्दैन ।’ 

यस सिजनमा चेन्नईले केवल चार जित मात्र हात पारेको थियो । आइपिएलको इतिहासमै चेन्नई पहिलोपटक पुछारमा रह्यो । चेन्नईले कीर्तिमानी रूपमा पाँचपटक आइपिएल जितेको छ । आइपिएलमा सबैभन्दा धेरै फाइनल खेल्ने र उपविजेता बन्ने फ्रेन्चाइज टोली पनि चेन्नई हो । यस सिजनमा प्लेअफ दौडबाट सुरुमा बाहिरिने टोली चेन्नई रह्यो । नियमित कप्तान ऋतुराज गायकवाड घाइते भएपछि धोनीले कप्तानी जिम्मेवारी पाएका थिए । उनको कप्तानीमा धोनीले दुई खेलमा जित निकाल्यो । 

सुझावित समाचार