राष्ट्रिय स्वतन्त्र पार्टीले ‘प्रश्न उठेपछि राजीनामा दिनुपर्छ’ भन्ने गृहमन्त्री रमेश लेखकको अभिव्यक्ति उनलाई नै स्मरण गराउने भएको छ।
विगतमा लेखकले ‘प्रश्न उठे राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्छ’ भन्ने गरेका थिए। विशेष गरी रास्वपा सभापति एवं तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि लेखकले सदनबाट पटकपटक उनको राजीनामा माग गरेका थिए।
अहिले आफैँ गृहमन्त्री रहेका लेखकमाथि भिजिट भिसाको सेटिङमा सिधै जोडिएको भन्दै प्रश्न उठेपछि रास्वपाले लेखकलाई उनको अभिव्यक्ति संसदबाटै स्मरण गराउने भएको रास्वपा सांसद मनीष झाले जानकारी दिए।
सोमबार पार्टी संसदीय दलको बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै झाले भने, ‘विगतमा कुनै पनि प्रश्न उठ्दै गर्दा नेताले राजीनामा दिएर प्रकृयालाई सघाउनुपर्छ भन्ने दृष्टान्त, व्याख्याहरु वर्तमान गृहमन्त्रीज्यूले लगभग एक वर्ष अगाडी सदनमा प्रस्तुत गर्नुभएको थियो। हामी उहाँलाई भोलि त्यो सम्झाउन चाहान्छौँ।’
अरुको बारेमा प्रश्न उठ्दा राजीनामा माग्नेले पार्टी पदाधिकारी बैठक गरेर क्लिन चिट लिएको भन्दै झाले कांग्रेस पदाधिकारी को हो भन्दै प्रश्न गरे। उनले भने, ‘नेपाली कांग्रेसको पदाधिकारीले निर्णय गर्न पाउने संवैधानिक र कानुनी आधार के छ ? कसरी उसले क्लिन चिट दिन पाउँछ ? अनुसन्धान गर्ने निकायहरुले प्रश्न उठाइसकेपछि त्यो अनुसन्धानलाई सहजीकरण गर्नुपर्ने होइन ?’
अनुसन्धान गर्ने निकायहरु र आफ्नै सांसदले समेत प्रश्न उठाएको उल्लेख गर्दै झाले प्रश्न गर्ने सांसदलाई कांग्रेसले बर्खास्त गर्न सक्ने आशंका व्यक्त गरे। उनले प्रश्न उठाउनेलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्न कांग्रेसले एमाले नेतृत्वबाट सिकिसकेको टिप्पणी समेत गरे।
‘गठबन्धनमा नेकपा एमालेको नेतृत्वले नेपाली कांग्रेसलाई के सिकाएछ भने प्रश्न उठेपछि स्पष्टीकरण सोध र बर्खास्त गर भनेर सिकाएको रहेछ। किनकी एमालेले त्यो अभ्यास गरेको थियो। आजदेखि कांग्रेसले पनि गर्न थाल्छन् कि ।’