श्री भगवती ‘ए’ डिभिजनमा

बुधबार, ८ जेठ, २०८२
डिजिटल संस्करण

टोखाको श्री भगवती क्लब ‘ए डिभिजन लिगमा पहिलोपटक उक्लिएको छ । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत मंगलबार ब्वाइज युनियनलाई २–१ ले हराउँदै श्री भगवती ‘ए’ डिभिजनमा प्रवेश गरेको हो । यसअघि प्लानिङ ब्वाइज युनाइटेड शीर्ष डिभिजनमा उक्लने पहिलो क्लब बनेको थियो । प्लानिङ ब्वाइज ‘बी’ डिभिजन लिगको विजेता बनेको छ । 

अपराजित प्लानिङ ब्वाइजले १२ खेलबाट ३० अंक जोडेको छ । लिगमा दोस्रो स्थान रक्षा गर्ने क्रममा श्री भगवतीले १२ खेलबाट २६ अंक जोडेको छ । ब्वाइज युनियन समान खेलबाट १९ अंकसहित चौथो स्थानमा रह्यो । श्री भगवतीले अन्तिम खेलमा हारको सामना गरे पनि ब्वाइज युनियन अंकतालिकामा दोस्रो स्थानमा उक्लिन सक्दैन । 

यसपटक नयाँ बस्ती र टुसाल युथ क्लब रेलिगेसनमा पर्दै ‘सी’ डिभिजनमा घटुवा भएका छन् । लिगमा १२औँ तथा अन्तिम चरणको खेल हुन बाँकी छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा श्री भगवतीलाई जित दिलाउन शिशिर लेखी र अजित लामाले समान एक गोल गरेका थिए । शिशिरले छैटौँ मिनेटमा श्री भगवतीलाई १–० को अग्रता दिलाएका थिए । अजितले खेलको ३८औँ मिनेटमा श्री भगवतीलको अग्रता २–० मा पुर्याए । पहिलो हाफमा गोल गर्न नसकेको ब्वाइज युनियन दोस्रो हाफमा फर्कियो ।

आरसिटी रेलिगेसनबाट जोगियो 
सहिद स्मारक ‘ए’ लिग ६ पटक जितेको रानीपोखरी कर्नर (आरसिटी)ले चालू ‘बी’ डिभिजन लिगमा आफ्नो साख रक्षा गरेको छ । ‘सी’ डिभिजनमा घटुवा हुने सम्भावना बोकेको आरसिटीले मंगलबार वीरगन्ज युनाइटेडसँग बराबरी खेल्दै रेलिगेसन जोन त्यागेको हो । हारले आरसिटीको रेलिगेसन हुने सम्भावना धेरै थियो । आरसिटीले १२ खेलबाट १५ अंक जोडेको छ । आरसिटीको बराबरी खेलसँगै टुसाल युथ क्लब रेलिगेसनमा पर्यो । 

एन्फा कम्प्लेक्समा भएको खेलमा आरसिटी र वीरगन्जबिच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मध्यान्तरअघि दुवै टोलीका खेलाडीले आक्रामक खेल खेलेनन् । खेलको ४८औँ मिनेटमा प्रज्वल गुरुङले आरसिटीलाई १–० को अग्रता दिलाए । उनले डिबक्स भित्र प्राप्त पासमा सहजै गोल गरे । तर, आरसिटीले आफ्नो अग्रता जोगाउन सकेन । आरसिटीको अग्रता केवल १० मिनेटसम्म रह्यो । खेलको ५८औँ मिनेटमा वीरगन्जले बराबरी गोल फर्काएको थियो । सञ्जय चौधरीले वीरगन्जका लागि बराबरी गोल गरे । वीरगन्जले १२ खेलबाट १७ अंक जोडेर पाँचौँ स्थान रक्षा गरेको छ । 

बराबरी नतिजाले टुसाल रेलिगेसनमा
प्रतिस्पर्धामा आरसिटी खेल नतिजामा टुसाल क्लब ‘बी’ डिभिजनमा रहने वा नरहने समीकरण थियो । तर, लिगकै अनुभव क्लब आरसिटीले आफू अनुकुल नतिजा निकाल्यो । यससँगै टुसालको घटुवा निश्चित भयो । टुसालले १२ खेलबाट ११ अंक बनायो । टुसाल १३औँ स्थानमा छ । अब टुसालले अन्तिम खेल जिते पनि अंकतालिकामा कुनै असर गर्दैन । टुसालभन्दा अगाडिका ६ क्लबको समान १५ अंक छ । १२औँ चरणमा बराबरी नतिजा निकालेको आरसिटी १५ अंकका साथ ११औं स्थानमा उक्लियो । 

सुझावित समाचार