गोन्द्राङमा दुई करोड २३ लाख लागतमा राइनो पार्क बन्दै, मेयर दाहालद्वारा शिलान्यास

बिहिबार, २ जेठ, २०८२
डिजिटल संस्करण

भरतपुर– १२ को गोन्द्राङमा नगरस्तरीय पार्क निर्माण हुने भएको छ। दुई करोड २३ लाख लागतमा निर्माण हुने राइनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमबिच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिलान्यास गरेकी छिन् । उनले भरतपुर महानगरपालिकाको एक वडा, एक पार्कको नीतिअनुसार राजमार्गसँग जोडिएको यस ठाउँमा पार्क निर्माण गर्न लागिएको बताइन् ।

उनले यो पार्कमा विभिन्न पर्यटकीय पूर्वाधारहरू निर्माण र सौन्दर्यीकरणको काम हुनेछ। राइनो पार्क भरतपुर आउने पर्यटकलाई नजिकै छोटो समय घुमघाम गर्न उपयुक्त स्थान बन्ने विश्वास व्यक्त गरिन्। बेलसहर सामुदायिक वन क्षेत्रमा पर्ने पार्क आठ बिघा क्षेत्रफलमा निर्माण हुनेछ । गौतम मोडर्न जेभीले ०८२ कात्तिक ७ गतेभित्र निर्माण सम्पन्न हुने गरी मूल्य अभिवृद्धि करसहित दुई करोड २३ लाख आठ हजार ६५४ रुपैयाँमा पार्कको निर्माण गर्नेछ ।

भरतपुर महागगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यले यो रकमबाट वन्यजन्तु उद्धार भवन, गोही, सर्प, माछा, कछुवाको लागि पोखरी, म्युजियम, फुटपाथ, घेराबारसहितको खुला चिडियाखाना र विश्रामका लागि गोलघर निर्माण हुनेछ। कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले पार्क निर्माणले पर्यापर्यटनलाई सहयोग पुर्याउने उल्लेख गरे । 

यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले पार्कमा ठेक्कामा उल्लेख भएका सबै संरचना बन्दा निकै आकर्षक पार्क निर्माण हुने विश्वास व्यक्त गरे । कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर– १२ का अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा भएको थियो ।
 

सुझावित समाचार