लगातार दोस्रो जित निकाल्दै मोक्षदा स्कुल क्वार्टरफाइनलमा

दोस्रो जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेट प्रतियोगिता

बिहिबार, २५ बैशाख, २०८२
डिजिटल संस्करण

लगातार दोस्रो जित निकाल्दै मोक्षदा स्कुल दोस्रो जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । बुधबार भएको आफ्नो दोस्रो खेलमा मोक्षदाले जेम्स स्कुललाई ८६ रनले हराएको हो ।

पहिला ब्याटिङ गरेको मोक्षदाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा जेम्सले २० ओभरमा आठ विकेट गुमाउँदा मात्र ८० रन बनाए सक्यो । यसअघि भएको पहिलो खेलमा मोक्षदाले ईशान साह सुवेदी चम्किएपछि त्रियोग स्कुललाई १३५ रनले हराएको थियो । 

दोस्रो खेलमा पनि प्लेयर अफ दी म्याच ईशानले ४३ बलमा सर्वाधिक ६१ रन लिए । उनको नाममा एक विकेट पनि रह्यो । त्यस्तै, आलोककुमार साहले १९ बलमा ३० र नितेश बुढाथोकीले २९ रनको योगदान गरेका थिए ।

यता बलिङतर्फ मोक्षदाका अभिसिंह राजपुतले सर्वाधिक तीन  विकेट लिँदा आलोककुमार र ईशानले समान एक विकेट लिएका हुन् । जेम्सका लागि अक्षान्त सुवेदीले २२, आरभ ज्ञावालीले २१ रनको योगदान गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

दिनको अन्य खेलमा नेपाल पुलिस स्कुलले भ्याली पब्लिक स्कुललाई ८५ रनले हराउँदा अपी स्कुल र सैनिक आवसीय महाविद्यालयले आ–आफ्नो खेलमा जित निकालेका छन् ।
 

See More On

सुझावित समाचार