उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल : काठमाडौं महानगरपालिकाबाट चाँगुनारायण नगरपालिका ५–० गोलले पराजित

मंगलबार, २३ बैशाख, २०८२
डिजिटल संस्करण

उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत हिजो भएको खेलमा काठमाडौं महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५–० गोलले पराजित गरेको छ ।

ललितपुरको एन्फा फुटबल ग्राउन्ड सातदोबाटोमा भएको खेलमा महानगरपालिकाका तर्फबाट राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ र मनीष सेढाईंले एक–एक गोल गरेका थिए । समूह ‘बी’मा रहेको महानगरपालिकाले यसपछिको खेल मध्यपुर थिमी नगरपालिकासँग खेल्नेछ । काठमाडौं महानगरपालिका मेयर कप फुटबल पहिलो संस्करणको विजेता हो । आज ललितपुरको कोन्ज्योसोम गाउँपालिका र काठमाडौंको तारकेश्वर नगरपालिकाबिच खेल हुँदै छ । 

महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्वराष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरूको व्यवस्थापन खेलकुदविज्ञ नवीन चित्रकारले गरेका थिए । यसअघिका प्रतियोगितामा ललितपुर महानगरपालिकाले बागमती गाउँपालिकालाई ७–३ गोलले पराजित गरेको छ । यस्तै, गोदावरी नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ६–१ ले पराजित गरेको छ । कागेश्वरी मनोहरा र दक्षिणकालीबिचको प्रतिस्पर्धामा दक्षिणकालीले ५–० गोलले कागेश्वरी मनोहरालाई पराजित गरेको छ ।   

प्रतियोगितामा काठमाडौं जिल्लाबाट काठमाडौं महानगरपालिका, चन्द्रागिरि नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन्। यस्तै, ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकासहित पाँचवटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिका प्रतिस्पर्धामा छन् । 

सेमिफाइनलको पहिलो खेल समूह ‘ए’को विजेता र समूह ‘सी’का विजेता बिच हुनेछ । यस्तै, दोस्रो खेल समूह ‘बी’ र समूह ‘डी’का बिच हुनेछ । सेमिफाइनल खेल ‘१’ का विजेता र सेमिफाइनल खेल ‘२’ का विजयीबिच फाइनल खेल हुनेछ । लगातार वर्षाका कारण पूर्वनिर्धारित तालिकामा खेल सञ्चालन हुन सकेको छैन ।  
प्रतियोगिताको विजेता टिमलाई नगद पाँच लाख रुपैयाँसहित ट्रफी, उपविजेता टिमलाई नगद तीन लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । 
 

सुझावित समाचार