सांसद वामदेव गौतमले आर्थिक वर्ष ०८२/८३ का लागि नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रममा कमजोरी रहेको बताएका छन्।
राष्ट्रिय सभाको आज सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘आर्थिक वर्ष ०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी गरेको प्रस्तावमाथि छलफलका क्रममा गौतमले नीतिगत पक्ष धेरै भएको र कार्यक्रमको पक्ष कमजोर रहेको टिप्पणी गरे।
‘नीति तथा कार्यक्रमले भ्रष्टाचार उन्मूलन गर्ने किसिमको योजना ल्याउन सकेन, आन्दोलन रोक्ने किसिमको कुनै शब्द उल्लेख गरिएन,’ उनले भने, ‘संविधानले मार्गदर्शन गरेको समाजवादभन्दा अन्य व्यवस्थामा जान सकिँदैन। समाजवादउन्मुख नीति तथा कार्यक्रम हुनुपर्थ्यो।’
यसैगरी, सांसद शारदादेवी भट्टले नीति तथा कार्यक्रममा व्यावसायिक जोखिम बिमा ल्याउने विषय समेटिनु स्वागतयोग्य भएको टिप्पणी गरिन्। ‘ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार गर्ने, १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार निःशुल्क गर्ने, महिलाको पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने, महिला सबलीकरणमा ध्यान दिने नीति स्वागतयोग्य छ,’ उनले भनिन्, ‘सीमा सुरक्षासम्बन्धी कार्यक्रमलाई तीव्रता दिनु राम्रो नीति हो। अब प्रभावकारी कार्यान्वयनको खाँचो छ।’
सांसद जगप्रसाद शर्माले आयात बढिरहेको उल्लेख गर्दै निर्यात बढाउन ध्यान दिनुपर्नेमा जोड दिए। ‘आर्थिक वर्ष ०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकतालाई सही रूपमा सम्बोधन गर्न सक्दैन,’ उनले भने, ‘सुशासन, समृद्धि र सामाजिक न्यायको योजनालाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न सकेन।’