सहिद स्मारक ‘बी’ डिभिजन लिग : आरसिटीलाई रेलिगेसनबाट राहत

शुक्रबार, १९ बैशाख, २०८२
डिजिटल संस्करण

सहिद स्मारक ‘ए’ डिभिजन लिगको अनुभव बटुलिसकेको सरस्वती युथ क्लबलाई हराएपछि आरसिटीले फेर्यो राहतको सास 

अन्नपूर्ण क्लब (आरसिटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन क्षेत्र छाडेको छ । सरस्वती युथ क्लबलाई रोमाञ्चक खेलमा ४–३ ले पराजित गरेपछि आरसिटीले राहतको सास फेरेको हो । आरसिटीलाई जित दिलाउन प्रज्वल गुरुङले दुई तथा अजित गुरुङ र साजन पाख्रिनले समान एक गोल गरेका थिए । सरस्वतीका लागि विशेष लामा, सन्देश खत्री र नरेशकुमार खत्रीले समान एक गोल गरेका हुन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग ६ पटक जितिसकेको आरसिटीले अहिले ‘बी’ डिभिजन लिग खेलिरहेको छ । तर, लगातार हारले टोलीलाई रेलिगेसनको दबाब थियो । बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा ‘ए’ डिभिजन लिग अनुभव बटुलेको सरस्वतीलाई हराएपछि आरसिटीलाई राहत मिलेको छ । 

जितसँगै नौ खेलमा ८ अंक जोडेको आरसिटी १२औँ स्थानमा उक्लिएको छ । पराजित सरस्वती समान खेलबाट ६ अंकका साथ पुछारमा झर्यो । आरसिटीको जितले एक खेल कम खेलेको टुसाल क्लब ७ अंकका साथ रेलिगेसन क्षेत्रमा झरेको छ । यता, प्लानिङ ब्वाइज युनाइटेड २२ अंकका साथ लिगको शीर्ष स्थानमा छ । उसलाई श्री भगवती क्लबले १८ अंकका साथ पछ्याइरहेको छ ।

एकै खेलमा सात गोल 
शीर्ष डिभिजन लिगको अनुभव बटुलिसकेका दुई क्लबबिचको खेल निकै रोमाञ्चक रह्यो । खेलभर सात गोल भए । पहिलो हाफमा दुई गोल हुँदा दोस्रो हाफमा पाँच गोल भएका थिए । अग्रता भने सरस्वतीले बनायो । खेलको ३६औँ मिनेटमा विशेषको गोलमार्फत सरस्वतीले अग्रता लियो । चार मिनेटपछि नै अजितले आरसिटीलाई १–१ को बराबरीमा ल्याएका हुन् । सन्देशले ५३औँ मिनेटमा गोल गर्दा सरस्वतीले पुनः अग्रता बनायो । ६५औँ मिनेटमा प्रज्वलले आरसिटीलाई पुनः २–२ को बराबरीमा पुर्याएका थिए । 

दुई मिनेटपछि नै साजनले गोल गर्दै पहिलोपटक आरसिटीलाई अग्रता दिलाए । प्रज्वलले ७०औँ मिनेटमा टोलीका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गर्दै जितको आधार तय गरेका थिए । इन्जुरी समयमा सरस्वतीका लागि नरेशले गोल गरे पनि टोलीलाई अंक भने दिलाउन सकेनन् । 

तेस्रो स्थानमा उक्लियो बाँसबारी 
बाँसबारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुधबारै भएको दोस्रो खेलमा बाँसबारीले टुसाल युथ क्लबलाई १–० ले हरायो । जितपछि बाँसबारीले नौ खेलमा १५ अंक जोडेको छ । टोलीले च्यासल युथ क्लबलाई पछि पारेको हो । पराजित टुसाल समान खेलबाट ७ अंकका साथ रेलिगेसन क्षेत्रमै छ ।

बाँसबारीको जितमा बिक्की राईले निर्णायक गोल गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । बिक्कीले ६७औँ मिनेटमा गोल गरे ।

सुझावित समाचार