अप्रिय निर्णयले चार वर्षको छोराको मृत्यु, आमा आइसियूमा

मंगलबार, १६ बैशाख, २०८२
डिजिटल संस्करण
अप्रिय निर्णयले चार वर्षको छोराको मृत्यु, आमा आइसियूमा

विराटनगरको नोबेल अस्पतालमा उपचाररत काजल साफी

घरभित्रको पीडा, असमझदारी र झगडापछि आक्रोशमा एक आमाले चालेको कदमले एउटा चारवर्षे निर्दोष बालकको जीवन समाप्त भएको छ । सप्तरीको राजविराज नगरपालिका– १, चनौराकी २५ वर्षीया आमा काजल साफी विराटनगरस्थित नोबेल अस्पतालको आइसियूमा जीवन–मृत्युको संघर्ष गरिरहेकी छिन् ।

प्रहरीका अनुसार काजलले आफ्ना नाबालक छोरालाई विष खुवाएर आफैँ पनि ज्यान लिने प्रयास गरेकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार काजलले आइतबार साँझ छोरा सौरभलाई विष खुवाएर आफूले पनि खाएकी हुन् । 

तर, तीनवटा अस्पताल दौडाउँदा–दौडाउँदै सौरभको सोमबार बिहान विराटनगरको नोबेल अस्पतालमा ज्यान गएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । नोबेलमै उपचाररत काजलको अवस्था पनि गम्भीर छ । उनको जीवन जोगाउन चिकित्सकले प्रयास गरिरहेका छन् । 

उनीहरूलाई आइतबार साँझ राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो । त्यहाँबाट आइतबार राति नै विराटनगरको नोबेल अस्पताल लगिएको थियो । तर, सौरभलाई भने जोगाउन सम्भव भएन । 

एक साताअगाडि धनुषाको सहिदनगर– ५, वासुदेवपट्टीमा पनि यस्तै हृदयविदारक घटना घटेको छ । एक आमाले आफ्ना तीन सन्तानलाई विष खुवाएर आफैँ पनि ज्यान लिन खोजेकी थिइन् । ३० वर्षीया गर्भवती पविता साहले ६ वर्षीय छोरा आदित्य, चारवर्षीया छोरी आकृति र दुईवर्षीया छोरी आरुषीलाई विष खुवाएकी थिइन् ।

विष सेवनबाट तीनै नाबालक सन्तानको ज्यान गएको थियो । पछि उपचारका क्रममा आमा पविताको मृत्यु भएको छ । शल्यक्रिया गरेर निकालिएका नवजात शिशुको जनकपुरस्थित रामजानकी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सुझावित समाचार