तेस्रो नेपाल सुपर लिगमा धेरै गोल गर्ने विदेशी खेलाडीको दबदबा

सोमबार, १५ बैशाख, २०८२
डिजिटल संस्करण

तेस्रो नेपाल सुपर लिग (एनएसएल)मा पूर्ण रूपमा विदेशी खेलाडी हाबी हुँदा ललितपुर सिटी एफसीले दोस्रोपटक उपाधि जित्यो । यसपटक फ्रेन्चाइज लिगको सुरुमै स्वदेशीभन्दा विदेशी खेलाडीको दबदबाको पूर्वानुमान थियो । राष्ट्रियस्तरका चार दर्जनभन्दा बढी खेलाडी विदेश पलायन भएपछि अक्सनअगाडि स्वदेशी खेलाडीको अभाव भयो । 

जसका कारण आयोजकले तेस्रो संस्करणमा एकैपटक ६ विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउने प्रावधान बनायो । झापा, बुटवल–लुम्बिनीबाहेक पाँच टोलीले समान ६ खेलाडी अनुबन्ध गरेका थिए । फ्रान्स, इंग्ल्यान्ड, ब्राजिल, घाना, कोलम्बिया, मोरक्कोलगायतका १९ देशबाट एनएसएल खेल्न आए । चार खेलाडीले दशरथ रंगशालामा आफ्नो जादुमयी खेल देखाएका थिए । श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ विना विदेशी खेलाडी मैदान उतारेको विषय पनि चर्चा नभएको होइन । लिगमा नाइजेरियाबाट सर्वाधिक ६ खेलाडी अनुबन्ध भए । उज्वेकिस्तानबाट पाँच र सेनेगलबाट चार खेलाडी नेपाल आएका थिए ।

 सात टोली सहभागी लिगमा एक सय २० भन्दा बढी नेपाली खेलाडीले रोजगारी पाएका थिए । तर, नेपाली खेलाडीको तुलनामा विदेशी खेलाडी पूर्ण रूपमा हाबी भए । गोल गर्ने सूचीमा पनि विदेशी नै अगाडि रहे । नेपाली खेलाडी जर्ज प्रिन्स कार्की र सुदिल राईले दुई गोल गरे । आदित्य शाक्य, नीरज चौधरी, कृतिशरत्न छुन्जु, समीर तामाङ, मणिकुमार लामा, अनन्त तामाङ, सन्तोष खत्री, आयुष घलान, नवीन लामा, लाकेन लिम्बूले जया गुरुङ पनि गोल गरेका थिए । एनएसएलमा भएका तीनवटै आत्मघाती गोल पनि नेपाली खेलाडीका नाममा रह्यो । झापाका दीपेश धिमाल, धनगढीका अमृत श्रेष्ठ र चितवनका अभिषेक लिम्बूले आत्मघाती गोल गरेका थिए । 

 अमाडोउ डिओप (काठमाडौं रेन्जर्स), गोल : ४
पहिलो संस्करण च्याम्पियन भएको काठमाडौंले त्यसपछि राम्रो प्रदर्शन गर्न सकेन । तेस्रो संस्करणमा उपाधि जित्ने योजना बनाउँदा अमाडोउ डिओपलाई विदेशी खेलाडीको कोटाबाट अनुबन्ध गर्यो । रोहन कार्की मार्की रहेको काठमाडौंले सेनेगलमा २९ वर्र्षीय अमाडोउ डिओपले उत्कृष्ट प्रदर्शन गरे । लिगको पाँचौँ स्थानमा रहेको काठमाडौंका लागि अमाडोउले चार गोल गरे । उनले पहिलो खेलमा ललितपुरविरुद्ध २–० ले पछि हुँदा पुनरागमन गराएका थिए । त्यस्तै, बुटवल, धनगढी र चितवनविरुद्ध गोल गरे । तर, यसपटक टोली लिग चरणबाट माथि बढ्न सकेन । 

 अहमद हिजाजी (धनगढी एफसी), गोल : ५ 
धनगढीका लागि खेलेका लेबनानका अहमद हिजाजीले लगातार आफ्नो प्रभावशाली प्रदर्शन देखाउन सफल भए । यसपटक उनको नाममा एउटा ह्याट्रिक रह्यो । आठ खेल खेल्दा ३० वर्षीय हिजाजीले पाँच गोल गरे । यसपटक उनी नै सर्वाधिक गोलकर्ताको सूचीमा रहे । काठमाडौंविरुद्ध ह्याट्रिक गरेका उनले बुटवल–लुम्बिनीविरुद्ध दुई गोल गरेका थिए । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबबाट खेल्दै हिजाजी नेपाली फुटबलमा भित्रिएका हुन् ।

पछिल्लोपटक भएको ‘ए’ डिभिजन लिगमा पुसिललाई रेलिगेसन क्षेत्रबाट जोगाउँदै हिजाजीले तेस्रो स्थानमा पनि पुर्याए । दोस्रो संस्करण पनि धनगढीबाट खेलेका उनले सानदार प्रदर्शन गरे । धनगढी र हिजाजीको लगातार तेस्रोपटक फाइनल खेल्ने सपना पूरा हुन सकेन । इलिमिनेटरमा पोखरासँग पराजित हुँदा धनगढी बाहिरियो । यसअघिका दुवै संस्करणमा धनगढी उपविजेता बनेको थियो । हिजाजीले चितवन एफसीविरुद्ध विश्राम लिँदा सबै खेल खेलेका थिए । 

 जोनाथन कान्टिलाना  (ललितपुर एफसी) गोल : ३ 
प्यालेस्टाइनका जोनाथन इडुआर्डाे कान्टिलाना जोरिल्ला पहिलोपटक नेपाली फुटबलमा देखिएका हुन् । चिलीमा हुर्किएका उनले सुरुमा प्यालेस्टाइनबाट खेले । ३२ वर्षीय खेलाडीले आफ्नो प्रभाव पहिलो खेलमै काठमाडौंविरुद्ध देखाउन सफल भए । उनले खेलको पाँचौं मिनेटमै गोल गरे । शारीरिक रूपमा बलिया जोनाथनले पोखराविरुद्ध ३–२ को रोमाञ्चक जितमा पनि दुई गोल गरेका थिए । तर, त्यसपछिका अधिकांश खेलमा विश्राम लिएका उनले फाइनलमा भने केही समय खेले । 

 स्टेफन विनोङ समीर (पोखरा थन्डर्स), गोल : ३ 
यसपटक पोखरा थन्डर्सले सरप्राइज नतिजा नै निकाल्यो । सुरुमा दुई खेलमा पराजित भएको टोलीले त्यसपछिका खेलमा अपराजित यात्रा कायम राख्दै फाइनल खेल्यो । सुमन श्रेष्ठको प्रशिक्षणमा रहेको पोखराका लागि २७ वर्षीय स्टेफनको प्रदर्शन अब्बल रह्यो । उनले काठमाडौंविरुद्ध जित्नैपर्ने खेलमा निर्णायक एक गोल गरे । झापा र धनगढीविरुद्ध पनि उनको नाममा समान एक गोल रह्यो । क्यामरुनका बिनोङसँग आधा दशकदेखि नेपाली फुटबलमा खेलेको अनुभव थियो । दशरथ रंगशालामा उनले यसको भरपूर सदुपयोग गरे । 

 इमोह इजेकिइल (ललितपुर सिटी), गोल : ३
ललितपुरका कान्टिलानासँगै इमोह इजेकिइलले पनि समान तीन गोल गरेका छन् । उनले उपाधि भिडन्तमा पोखराविरुद्ध एक गोल गर्न सफल रहे । उनकै गोलमा ललितपुरले अग्रता बनाएको थियो । त्यसअघि धनगढी र चितवनका लागि उनले समान एक गोल गरेका थिए । इमोहले लगातार दोस्रोपटक ललितपुरलाई च्याम्पियन बनाउन भूमिका खेलेका थिए । पहिलोपटक एनएसएल खेल्न आउँदा उनले सर्वाधिक ६ गोल गरेका थिए । नाइजेरियन इमोहले धनगढी र काठमाडौंविरुद्ध समान दुई तथा वीरगन्ज युनाइटेड र पोखराका लागि समान एक गोल गरेका थिए । यसपटक पनि उनको प्रदर्शन निकै राम्रो देखिएको थियो । 

 जोई आइडु (पोखरा थन्डर्स), गोल : ३
पोखराले अन्तिम समयमा मात्र जोई आइडुलाई सम्झौता गरेको थियो । पोखराले उनलाई किन भित्र्याएको भनी प्रमाणित पनि गरेको छ । शारीरिक रूपमा निकै बलिया आइडुले टोलीलाई आवश्यकताअनुसार डिफेन्समा सहयोग गर्ने र काउन्टर अट्याकमा पनि उत्तिकै प्रभावशाली प्रदर्शन गर्न सफल भए । विशेषतः उनको प्रदर्शन दोस्रो क्वालिफायर्समा चितवनविरुद्ध रह्यो । टोलीलाई जित्नैपर्ने दबाबबीच दुई गोल गरेका थिए । त्यस्तै, ललितपुरविरुद्ध पहिलो भेटमा ३–२ ले पराजित हुँदा एक गोल उनको नाममा थियो । आइडुकै उत्कृष्ट प्रदर्शनमा पोखराले पहिलोपटक फाइनलमा स्थान बनाएको थियो । 

सुझावित समाचार