अधिवक्ता तथा अधिकारकर्मी शैलेन्द्र अम्बेडकारलाई ३ प्रश्न

सोमबार, १५ बैशाख, २०८२
डिजिटल संस्करण

आजको समयमा पनि दलित समुदायमाथि हुँदै आएका विभेद हट्न नसक्नुको कारण के होला ?
हामीकहाँ राजनीतिक रूपमा सत्ता परिवर्तन भए पनि त्यसलाई सञ्चालन गर्ने व्यक्ति, तिनको सोच र विचार परिवर्तन हुन सकेन । हिजो जोजसले सत्तामा बसेर हालीमुहाली गरे, जसले दलितलाई मान्छे नै गनेनन्, आज पनि तिनैका छोरा, नाति सत्तामा छन् । जसले गर्दा विभेद ‘हेरिडिटी’का रूपमा कायमै छ ।

शिक्षाको अभाव र चरम गरिबीका कारण दलितहरू अर्थपूर्ण रूपमा सत्तामा पुग्न सकेनन् । सरकारी वकिल, प्रहरी र प्रशासनमा सत्ता राजनीतिको छाया छ । जसले गर्दा उनीहरू शक्तिका पछि लाग्छन् । पीडितको जाहेरी दर्ता गर्नसमेत यहाँ निकै ठुलो संघर्ष गर्नुपर्ने स्थिति छ । अहिले मिडियाले साथ दिएको हुनाले केही घटना बाहिर आएका मात्र हुन्, अन्यथा यहाँ धेरै घटना भित्रभित्रै दबाइन्छन् । 

विभेद रोक्न बनेका कानुन कार्यान्वयनको अवस्था कस्तो छ ?
राज्यले विभेद रोक्न कानुन बनाएको छ । तर, तिनको कार्यान्वयनको अवस्था अत्यन्त फितलो छ । सत्तामा गैरदलितको वर्चस्व रहेकाले दलितमाथि अत्याचार गर्नेहरू पक्राउ परिहालेको अवस्थामा पनि राजनीतिक तथा सामाजिक दबाब छिटै छुट्ने अवस्था छ । फेरि तीन वर्षभन्दा कम सजाय हुने घटनामा धरौटीमा छुट्ने कानुनी प्रावधानले गर्दा पीडकहरू सजिलै धरौटीमा छुट्ने र बाहिर निस्केपछि पीडितलाई थप दुःख दिने अवस्था छ । यसमा सुधार हुनुपर्छ । 

विभेद रोक्ने विषयमा राजनीतिक दल र तिनका नेता, कार्यकर्ताको रवैया कस्तो छ ?
राजनीतिक दल, तिनका नेता तथा कार्यकर्तालाई कुनै डर छैन । उनीहरूले निर्वाचनमा अत्यन्त गरिब दलित समुदायलाई प्रलोभन देखाएर या धाक, धम्की दिएर भोट पाउने अवस्था भएकाले दलित समुदायको पीडामा कत्ति पनि चासो दिँदैनन् । यसमा झन् मधेसी दलले त वास्तासम्म नगर्नु विडम्बना हो ।

सुझावित समाचार