पहलगाम र साम्प्रदायिक घृणाको सामान्यीकरण

आइतबार, १४ बैशाख, २०८२
डिजिटल संस्करण

भारत विभाजनको सामूहिक चिहान वा त्यसको खरानीबाट केही नसिक्नु भनेको आफ्नै पतनमा सहभागी हुनु हो

दण्डहीनताको सुविधा पाइरहेका हिंसाका छायामा अहिलेका भयावह घटनालाई हामीले कसरी हेर्ने ? के हामीले अगुल्टोलाई नियालेर हामीमध्ये को जिउँदै पोलिनलायक छ भनेर सोध्नुपर्ने हो ? सम्मानित विद्वान्, चर्चित साहित्यकार, उच्च पदाधिकारी आडम्बरपूर्ण आत्ममहत्वमा मग्न छन् र आफ्ना असुरक्षालाई पीडितका दुःखमा लुकाइरहेका छन् । त्यसो भए अहिलेका ‘निरो’का नयाँ रूप को हुन्, जसले निर्दयी त्रासदीलाई निरपेक्ष उत्सुकता वा रुचिसाथ हेरिरहेका छन् ?

२२ अप्रिल २०२५ मा पहलगाममा भएको आक्रमण, जहाँ आतंककारीले पुरुषलाई छुट्याएर इस्लामिक कलमा पढ्न नसकेका गैरमुसलमान पर्यटकको हत्या गरेका थिए । र, त्यसको केही घण्टामै टेलिभिजन र सामाजिक सञ्जालमा जातीय संहारसम्बद्ध उग्र नारा दोहोरिन थाले । कस्मिरमा ‘इजरायलजस्तै समाधान’को माग बढ्दै गयो र टेलिभिजन समाचार सञ्चालकले ‘अन्तिम समाधान’को आह्वान नै गरे । यस किसिमका भाषा मूलधारको संवाद बन्छ भने त्यसले उत्तेजनासँगै साम्प्रदायिक रक्तपातको आधार तयार गर्छ ।

यस्तो भाषिक उत्तेजनाले विभाजनको रक्तपात र १९८४ का दंगाजस्ता हाम्रा विगतका कठोर कालखण्डको स्मरण गराउँछ । र, अहिले जातीय घृणा राजनीतिक र सञ्चार जगत्ले वैधता दिएका वेला अवस्था थप भयानक लाग्छ । सन् १९४७ को विभाजनमा करिब २० लाख मानिस मारिए र एक करोड ४० लाखले आफ्नो पुख्र्यौली घर गुमाए तापनि हाम्रो सार्वजनिक स्मृतिमा यी भयावह घटनालाई अझै गम्भीर रूपमा आत्मसात् गरिएको छैन । पाठ्यक्रममा मुलुकको विभाजनलाई सामान्य रूपमा उल्लेख गरिएको छ र यसको वर्षगाँठ वा स्वतन्त्रता दिवस पनि गम्भीर चिन्तनभन्दा पनि राजनीतिक अंक बटुल्ने समारोहमा सीमित हुने गरेका छन् ।

सन् १९८४ मा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि शिख समुदायमाथि राज्य संरक्षित हिंसा भयो, जहाँ दिल्लीमा मात्रै करिब दुई हजार आठ सय र देशभर तीन हजार तीन सय ५० मानिस मारिए । हिंसा फैलाउन मतदाता सूची प्रयोग गरी भिडले शिख घर चिन्थ्योे र प्रहरीको मौनता वा मिलेमतोमा हिंसा मच्चाइन्थ्यो । सन् १९८४ पछि दोषी प्रायः उन्मुक्त रहे र थोरैलाई मात्र सजाय भयो भने मुख्य योजनाकार कानुनी कारबाहीबाट जोगिए । सन् २००२ को गुजरात दंगा र सन् २०२० को दिल्ली हिंसामा पनि यही प्रवृत्ति दोहोर्याइयो, अर्थात् हजारौँ मारिए, तर सजाय केही व्यक्तिमा सीमित रह्यो, जब कि राजनीतिक आयोजक र घृणा फैलाउनेहरू जोगाइए । इतिहासले सबैभन्दा भयावह त्रासदी केवल उग्र नाराबाट मात्र नभई मौनता साध्ने र घृणा फैलाउनेबाट पनि सम्भव हुन्छ भन्ने देखाउँछ । २२ अप्रिलको घटनालाई एक प्रमुख टिभी समाचार सञ्चालकले ‘भारतका लागि इजरायलको ७ अक्टोबर’ (७ अक्टोबर २०२३ मा प्यालेस्टिनीप्रतिरोधी हमास लडाकु समूहले इजरायलमा हमला गरेका थिए) भन्दै भारतलाई नैतिक र सम्भावित संकटको संघारमा उभ्याउन खोजेका थिए ।

इस्वी संवत् ६४ मा रोममा ठुलो आगलागीपछि सम्राट् निरोले इसाईलाई दोषी ठहर्याए र तिनलाई जीवितै जलाएर सार्वजनिक रूपमा मृत्युदण्ड दिए । रोमका शक्तिशालीमध्ये कसैले भयले, कसैले मौन समर्थनका साथ त्यो दृश्य हेरेका थिए । प्राचीन र आधुनिक दुवै घटनाले एउटै सत्य देखाउँछन्, अर्थात् घृणा केवल उग्र एवं भड्काउ भाषणबाट मात्र नभई मौन स्वीकृति र समर्थनबाट पनि फैलन्छ । आज पनि यही ढाँचा दोहोरिएको छ । सन् २०१९–२०२० को हार्वर्ड अध्ययनले भारतमा डिजिटल र मूलधारका मिडियाले जातीय द्वेष फैलाउने, असहमति दबाउने र अतिवादी विचारधारालाई सामान्यीकरण गर्ने काम गरेको देखाएको छ । ‘कस्मिरका लागि अन्तिम समाधान’जस्ता वाक्यांशले होलोकास्ट युगको हिंसालाई (दोस्रो विश्वयुद्धताका यहुदी नरसंहार र सफाया) स्मरण गराउने सुनियोजित संकेत हुन् । तर, मिडिया बहसले जनसांख्यिकीय हेरफेरलाई केवल नीतिगत छलफलका रूपमा प्रस्तुत गर्दै गम्भीर मानव अधिकार उल्लंघनलाई सामान्य बनाइरहेका छन् ।

पहलगाममा बाँच्न सफलले सुनाएका विवरणअनुसार आतंककारीले परिचयपत्र जाँच गरे, पीडितलाई नांगो बनाई ‘सुन्नत’को प्रमाण खोजे र इस्लामिक कलमा पढ्न नसक्नेलाई गोली हाने । घटनास्थलका भयावह दृश्य केही मिनेटमै सामाजिक सञ्जालमार्फत फैलिए । यसको राजनीतिक प्रभाव तुरुन्तै देखियो । २४ घण्टाभित्र भारत–पाकिस्तान स्थल सीमा बन्द गरियो, सिन्धु जलसन्धि निलम्बन गरियो र पाकिस्तानी नागरिकका लागि भिसा छुट हटाइयो । यी सबैलाई सुरक्षा आवश्यकताका रूपमा प्रस्तुत गरियो, न कि सोचविचारसहितको आतंकविरोधी कदमका रूपमा प्रस्तुत गरियो । यसबिच कस्मिरमा थप सख्त सैनिक नियन्त्रणको बहस चर्कियो, जहाँ बलियो नेतृत्वको आवरणमा जातीय संहारका पुराना द्वेषी नारा प्रतिध्वनित भए ।

हामीले मूकदर्शक बन्ने र हिंसा निम्त्याउने गरी हुने भागिदारीको चक्र तोड्नैपर्छ । पत्रकार, सम्पादक र प्रसारकले केवल तथ्य रिपोर्ट गर्ने मात्र होइन, यिनले अमानवीय भाषाको नैतिक जोखिमलाई समयमै बुझ्न आवश्यक छ । राजनीतिज्ञ र विचार निर्माताले उत्पीडित समुदायलाई तारो बनाउने भाषाका लागि जवाफदेही बनाइनुपर्छ र घृणाको समर्थन वा उक्साउने भाषणमा कडा कानुनी कारबाही हुनुपर्छ । हामीले भारत विभाजनको सामूहिक चिहान वा सन् १९४८ को खरानीबाट केही पनि पाठ सिकेका छैनौँ भने हामी आफैँ आफ्नो पतनमा सहभागी भइरहेका छौँ । अब मूकदर्शकलाई न्याय रक्षकमा रूपान्तरण गर्ने वेला आएको छ, अर्थात् हरेक जातीय गाली वा नरसंहार उक्साउने संकेतलाई राजनीतिक नाटकका रूपमा नभई यसलाई सामूहिक रूपमा प्रतिरोध गर्नुपर्छ । वास्तविक ‘अन्तिम समाधान’ भनेको साम्प्रदायिक घृणालाई वैधता नदिई ‘फेरि यस्तो कहिल्यै हुनेछैन’ भन्ने संकल्पलाई हरेक नागरिकका लागि जिउँदो यथार्थ बनाउनु हो ।

(चौहान राजनीतिशास्त्र एवं समाजशास्त्रका अनुसन्धाता हुन्) 
द वायरबाट

 

सुझावित समाचार