नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्त प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारप्रति कडा रूपमा प्रस्तुत भएका छन्। संघीय संसद्को बर्खे (बजेट) अधिवेशनको पहिलो दिन दलीय आधारमा बोलेका पुनले सरकार र प्रधानमन्त्री केपी ओलीमाथि प्रश्नको वर्षा गरे।
सुरुआती दिनबाटै वर्तमान सरकार बिचौलिया, दलाल तथा स्वार्थ समूहले बनाएको भन्दै आएकामा सरकारका एकपछि अर्को व्यवहारले आफूहरूको आरोप पुष्टि गरेको उनको दाबी थियो।
धितोपत्र बोर्ड, बिमा प्राधिकरणजस्ता नियामक निकायमा भएका राजनीतिक नियुक्ति र स्वार्थ समूहले आफ्ना प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न गरिरहेको चलखेल दिनको घामजत्तिकै छर्लंग भएको पुनले बताए। १० महिनासम्म सरकारले दलाल, बिचौलिया र स्वार्थ समूहको संरक्षण तथा प्रतिपक्षी दल वा नेतासँग इगो साँध्नेबाहेक केही नगरेको उनको आरोप छ।
कांग्रेस महामन्त्री गगन थापाले ढिलै भए पनि सत्य बोलेर आफूहरूले भन्दै आएको कुरा पुष्टि गरेको भन्दै उनले धन्यवाद दिए। थापाले केही दिनअघि एक कार्यक्रममा बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै रहेको अभिव्यक्ति दिएका थिए।
‘हामीले सुरुदेखि नै यो सरकार स्वार्थ समूह र बिचौलियाले बनाएको भन्दै आएका थियौँ। हाम्रा भनाइहरू सत्ताबाट बाहिरिनुपर्दाको पीडा वा प्रतिपक्षले लगाउने कर्मकाण्डी आरोप थिएन भन्ने कुरा १० महिनामा सरकारका एकपछि अर्को व्यवहारले पुष्टि गरेको छ,’ पुनले भने, ‘आज हामीले मात्र होइन, घरघरमा, सार्वजनिक मञ्चमा र सबैतिर जनताले यो सरकारलाई बिचौलिया, दलाल र स्वार्थ समूहको सरकार भनिरहेका छन्। त्यति मात्र होइन, सत्तारूढ पार्टीका शक्तिशाली महामन्त्री, सरकार सञ्चालन गर्ने संयन्त्रका सदस्यले नै बिचौलयाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ भन्नुभयो। ढिलै भए पनि सत्य बोल्नुभएकोमा उहाँलाई धन्यवाद भन्न चाहन्छु।’
पुनले वर्तमान सरकार बनेपछि आमजनतामा व्यापक निराशा र असन्तुष्टि बढेको र त्यसैमा टेकेर जनताको शक्तिसामु घुँडा टेकेर गद्दी त्यागेका पूर्वराजाले टाउको उठाउने जमर्को गरेको टिप्पणी गरे। पुनले पूर्वराजालाई शक्तिमा फर्काउन तम्सिनेहरू अधिकांशजसो प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीका राजनीतिक सहकर्मी र उनका प्रिय पात्रहरू रहेको दाबी गरे।
‘अचम्मको कुरा त के छ भने प्रतिगमनका झन्डा उठाउनेहरू कोही सम्माननीय प्रधानमन्त्रीका चुनावी सहकर्मी, कोही एमालेकै सूर्य चिह्नबाट चुनाव लडेका, कोही उहाँका पार्टीका पूर्वकेन्द्रीय सदस्य, कोही प्रधानमन्त्रीको पार्टीका पूर्वसांसद, अरू कति उहाँका प्रिय पात्रहरू नै हुनुहुन्छ। के यो संयोग मात्र हो ? यसमा प्रधानमन्त्रीज्यूले आत्मसमीक्षा गर्नुभएको छ वा उहाँको के धारणा छ ?’ पुनले प्रश्न गरे।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सरकार गठनको १० महिना बित्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरिएकामा पनि प्रश्न गरे। पुनले कति सम्पत्ति थपेपछि सम्पत्ति विवरण सार्वजनिक गर्न खोजेको भन्दै कटाक्ष गरे । ‘सरकार बनेको १० महिना बित्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन। यसमा किन गाह्रो भएको हो सरकार ? कति सम्पत्ति वृद्धि गरेपछि सार्वजनिक गर्ने योजनामा हुनुहुन्छ ? कृपया जानकारी गराइदिनुहोला।’ उनले भने ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा सुशासन आयोग गठन भएकोमा आश्चर्य प्रकट गर्दै पुनले अख्तियार र सम्पत्ति शुद्धीकरणजस्ता निकायले काम गर्न नसकेको वा ती संस्थाको औचित्य सकिएको भन्दै प्रश्न उठाए। ‘के त्यसको अर्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागजस्ता राज्यका निकायले काम गर्न नसकेको हो ? के ती संस्थाहरूउपर सरकारलाई विश्वास नभएको हो ? वा तिनीहरूको औचित्य सकिएको हो ?’ पुनको प्रश्न थियो।
आफ्नो पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको समयमा आर्थिक संकटबाट मुलुकको अर्थतन्त्र लयमा फर्कँदै गरेको, सामाजिक न्यायका क्षेत्रमा धेरै काम भएको, मिटरब्याज र सहकारीपीडितलाई न्याय दिलाउन तथा बजेटमार्फत अघि सारिएका गण्डकी त्रिभुजजस्ता विशेष रणनीतिक कार्यक्रम हटाइएकामा पुनले आपत्ति जनाए।
उनले संसद्को बर्खे अधिवेशनको दायित्व सडक आन्दोलनमा रहेका माग सम्बोधन गर्ने तथा संघीयता कार्यान्वयनसँग सम्बन्धित प्रहरी समायोजन र निजामती सेवासहित लामो समयदेखि रोकिएका दर्जनौँ विधेयक पारित गर्नु रहेको बताए।
फरक प्रसंगमा पुनले भारतको जम्मु–कस्मिर क्षेत्रको पहलगाममा भएको हिंसात्मक हमलाको निन्दा गरे। हमलामा मारिएका नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे।