खाँदबारीको वडामै भत्ता पाएपछि ज्येष्ठ नागरिक दंग

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

खाँदबारी– ११ का ७२ वर्षीय डिकबहादुर राई घरछेउकै वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता पाएपछि दंग छन् । उनीजस्तै डिकबहादुरकी श्रीमती ७१ वर्षीया दिलकुमारी राईले पनि वडाबाटै भत्ता पाएपछि खुसी भएको बताइन् ।

बिहीबार वडा कार्यालयमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भनेपछि दुवैजना १० बजे नै कार्यालयमा पुगे । दुवैजनाले मासिक चार हजार रुपैयाँका दरले दुईजनाको तीन महिनाको २४ हजार रुपैयाँ बुझे । सामाजिक सुरक्षा भत्ताले आफूहरूको दैनिकीमा निकै सघाउ पुर्याएको बताउँछन् । डिकबहादुर भन्छन्, ‘आफ्नो खर्च चलाउन सजिलो छ, छोराबुहारीलाई पैसा माग्न पर्दैन, औषधिहरू किन्नसमेत पैसा पुग्छ । भत्ताले ठुलो सहयोग पुर्याएको छ।’ संखुवासभाको खाँदबारी नगरपालिकाले विगत दुई वर्ष अघिदेखि वडावडामै भत्ता वितरण सुरु गरेको हो । वडास्तरमा नै भत्ता पाएपछि ज्येष्ठ नागरिक, वृद्धवृद्धा र असक्तहरूलाई सजिलो भएको छ । 

‘एक दिन लगाएर सदरमुकामसम्म जानुपर्ने, त्यहाँ पनि बैंकमा बिहानैदेखि लाइन लागेर बस्नुपर्ने झन्झट थियो । अब वडामा नै सजिलो भएको छ,’ दिलकुमारी राईले भनिन्, ‘हामीजस्ता बुढाबुढीलाई बैंकसम्म पैसा लिन जानै हातगोडा दुखेर समस्या थियो, एक दिनअगाडि नै गएर खाँदबारीमा आफन्तकोमा बस्थेँ । त्यसमाथि गाडी भाडा तिर्नुपर्थ्याे, अब त घरछेउमै भत्ता दिन थालेपछि साह्रै खुसी लागेको छ । यसैलाई निरन्तरता दिओस्, कर्मचारी र जनप्रतिनिधिहरू सबैलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु ।’ 

वडा–वडामा नै भत्ता वितरण गर्न थालेपछि धेरै सजिलो भएको खाँदबारी नगरपालिका– ११ नम्बरका वडाध्यक्ष अनिल राईले बताए । ज्येष्ठ नागरिकहरूलाई वडाध्यक्ष अनिल राई र राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक गुरुप्रसाद राईले संयुक्त रूपमा भत्ता वितरण गर्दै कार्यक्रमको सुरुवात गरेका थिए । खाँदबारी– ११ नम्बर वडामा २८७ जना र १० नम्बर वडामा ३८३ जनालाई भत्ता वितरण गरिएको हो । 

खाँदबारी नगरपालिकाभित्र आज बिहीबार वडा नं. ११ र १०, शुक्रबार वडा नं. ५ र ६ र शनिबार वडा नं. ४ र २ मा वितरण गरिने खाँदबारी नगरपालिका मेयर महेश थपलियाले बताए । उनले आफू निर्वाचित भएर आउनेबित्तिकै वडास्तरमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको बताए । ज्येष्ठ नागरिकहरूले निकै दुःखकष्टका साथ सदरमुकाम खाँदबारीसम्म पुगेर बैंकमा लाइन बसेर भत्ता लिएर आउने गरेको देखेर वडा–वडामा नै भत्ता वितरण गर्ने योजना बनाएको मेयर थपलियाको भनाइ छ । जिल्लाको सबैभन्दा जेठो खाँदबारी नगरपालिकाभित्र ११ वटा वडाहरू रहेका छन् ।
 

सुझावित समाचार