नवलपरासी बर्दघाट सुस्ता पश्चिमको एक विद्यालयका प्रधानाध्यापकसहित दुईजना घुस मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले मंगलबार फैसला गर्दै एक प्रतिवादीलाई भने सफाइ दिएको छ।
नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ५ स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमराज कँडेल र विद्यालय व्यवस्थापन समिति सदस्य सुरेन्द्र कहार भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन्। मुद्दा दायर भएको दुई महिनामा फैसला आएको हो।
उनीहरूलाई जनही तीन–तीन महिना कैद र ३२ हजार ५ सय रुपैयाँ जरिवानाको फैसला भएको छ। यसैगरी, प्रतिव्यक्ति १३ सय रुपैयाँ पीडित राहत कोषमा भराउने फैसला भएको छ। यस मुद्दामा विशेषका सदस्यहरू तेजनारायणसिंह राई, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले फैसला दिएको हो।
उनीहरूले घुसबापत ६५ हजार रुपैयाँ मागिरहेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयमा परेको थियो। भवन निर्माण सम्पन्न भएपश्चात् अन्तिम बिल भुक्तानीका लागि दुवैजनाले घुस मागेका थिए।
यस मुद्दामा कँडेल, कहारका साथै लेखापाल सुरेश गुप्तालाई पनि प्रतिवादी बनाइएकोमा गुप्तालाई विशेषले सफाइ दिएको हो। अख्तियारले भने गुप्ता र कहारलाई रकमसहित पक्राउ गरेको थियो। तर, उजुरकर्ताले उनको नाम किटान नगरेको, अन्य प्रतिवादीले पनि पोल नगरेको, घुस मागेको कुनै प्रमाण नभएको तथा टेबलमा राखिएको रकम घुसबापतको हो भन्ने गुप्तालाई जानकारी रहेको कुनै प्रमाण पेस नभएको आधारमा सफाइ दिइएको हो।
अन्य प्रतिवादीका हकमा घुस मागेको फोन संवाद प्रमाणका रूपमा अदालतमा पेस भएको थियो। अख्तियारले गत २० माघमा मुद्दा दायर गरेको थियो।