आठौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन

आइतबार, ७ बैशाख, २०८२
डिजिटल संस्करण

आठौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप २०८२ अन्तर्गतका विजेताले नगद पुरस्कार, शिल्ड मेडल, र प्रमाणपत्र प्राप्त गरेका छन्। नेपाल स्केटिङ तथा स्केट बोर्ड संघद्वारा वार्षिकरुपमा आयोजना हुने गरेको च्याम्पियनशिपमा महिला खुलातर्फ खुसी विक प्रथम, लेमन मगर दोस्रो र समिक्षा राईले तेस्रो स्थान प्राप्त गरे।

खुला पुरुषतर्फ गजेन्द्र बर्देवा प्रथम, शरद राई दोस्रो र वसन्त राई तेस्रो भए। यसैगरी पुरुष जुनियरतर्फ अभिषेक परियार प्रथम, अंकित विक दोस्रो र अविनाश कुमाल तेस्रो भएका संघका महासचिव सत्य थापाले बताए।

खुलातर्फको प्रतियोगिताका प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ पुरस्कार पाए। यस्तै जुनियरतर्फ प्रथमले १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले तीन हजार रुपैयाँ हात पारेका छन्।

तीनै वटै विधाका विजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्ड संघका अध्यक्ष अच्युत खनाल, संघका सल्लाहकार तथा प्रशिक्षक दिलिपराज बराललगायतले नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र वितरण गरेका थिए।

यसअघि शनिबारै विहान सो च्याम्पियनशिप २०८२ को उद्घाटन गर्दै राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले ओलम्पिकमा जित्ने गरेर तयारी गर्न खेलाडीलाई आग्रह गरेका थिए।

प्रमाणपत्र वितरण गर्दै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ पनि ओलम्पिक कमिटीको सदस्य संघ भएकाले अब नेपाल स्केटिङ तथा स्केट बोर्डअन्तरगतका खेलाडीले विभिन्न तहका प्रतियोगितामा सहभागी हुने अवसर पाउने बताए।

सुझावित समाचार