६ केजी अफिमसहित हेटौँडाबाट एकजना पक्राउ

आइतबार, ७ बैशाख, २०८२
डिजिटल संस्करण

मकवानपुर प्रहरीले करिब ६ केजी अवैध लागुऔषध अफिमसहित हेटौँडाबाट एकजनालाई पक्राउ गरेको छ। प्रहरीले ५ किलो ९४० ग्राम अफिमसहित चितवन जिल्लाको राप्ती नगरपालिका– ११ का २५ वर्षीय बाबुराम तामाङलाई पक्राउ गरेको हो।

तामाङलाई इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ७ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीबाट नियन्त्रणमा लिएको हो। 

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको यात्रुवाहक बसमा सवार तामाङलाई पाँच किलो ९४० ग्राम परिणामको अफिमसहित नियन्त्रणमा लिएको हो।

मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालका अनुसार तामाङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा तीनवटा प्याकेटमा पाँच किलो ९४० ग्राम अफिम फेला परेको हो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता अर्यालको भनाइ छ।

सुझावित समाचार