संखुवासभाको सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसेमा रहेको सभाखोला लघु जलविद्युत् परियोजना दुई करोडमा बिक्री गरिएको छ ।
सभापोखरी– ६ बाह्रबिसेमा रहेको ४० किलोवाट क्षमताको सभाखोला लघु जलविद्युत् परियोजना अर्बिट इनर्जी प्रालि (सी) हाडीगाउँ काठमाडौंले खरिद गरेपछि स्थानीयको सेयर र सेवाग्राहीबापत बुझाएको रकम एक कार्यक्रमको आयोजना गरी शनिबार फिर्ता गरिएको हो ।
उक्त सेयरधनी र सेवाग्राहीलाई सेयर रकम फिर्ता कार्यक्रममा सभापोखरी लघु जलविद्युत् परियोजनाबारे सभाखोला लघु जलविद्युत् कार्य समूहका अध्यक्ष तथा सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले जानकारी दिएका थिए भने संस्थाका सचिव कैलाश कालाखेतीले प्रतिवेदन प्रस्तुतीकरण गरेका थिए ।
अर्बिट इनर्जी प्रालि (सी) हाडीगाउँ काठमाडौंले सभाखोला जलविद्युत् उत्पादन गरिरहेको ठाउँको लाइसेन्स लिई नेपाल सरकारबाट अनुमति प्राप्त गरेपछि स्थानीयको लगानी फिर्ता नगरी उत्पादन गर्न नदिने स्थानीयको चेतावनीपछि दुई करोड रुपैयाँमा सहमति भएको सभाखोला लघु जलविद्युत् परियोजनाका अध्यक्ष तथा सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले बताए ।
उनले आधिकारिक रूपमा अब सभाखोला लघु जलवद्युत् अर्बिट इनर्जीलाई बेचिसकेको बताउँदै संस्थामा दुई करोड रुपैयाँसमेत जम्मा भइसकेको र सोही रकम सेयरधनी र सेवाग्राहीहरूलाई फिर्ता गरिएको बताए ।
संस्था बेचिसकेको भएपछि अब एक–डेढ महिना सोही बत्ती बाल्न दिने सहमति भएको अध्यक्ष लिम्बूको भनाइ छ । पहिले बाह्रबिसेसम्म केन्द्रीय प्रसारणलाइन नजोडिँदा समस्या थियो, अहिले केन्द्रीय प्रसारणलाइन जोडिएकाले पनि सजिलो भएको अध्यक्ष लिम्बूको भनाइ छ । ‘हामीले सञ्चालन गरिरहेको लघु जलविद्युतको मुहान पनि हाम्रो नाममा आधिकारिक रजिस्ट्रेसन पास थिएन, लघु जलविद्युत् सञ्चालन गर्दा मर्मत खर्च बढी र केन्द्रीय प्रसारणलाइनभन्दा महँगो पनि पर्ने भयो । सबैको साझा सहमतिपछि बेच्ने निर्णयमा पुगेको हो ।’
अध्यक्ष लिम्बूले भने, ‘हामीले पटक–पटक अर्बिट इनर्जी कम्पनीसँग छलफल गर्याैँ, अन्तिम सहमति दुई करोड रुपैयाँ दिने भयो, संस्थापक सेयरधनी २७५ जनालाई प्रतिसेयर ७० हजार पाँच सय रुपैयाँ र पछि थपिएका ८६ घरधुरीलाई तीन हजार रुपैयाँका दरले वितरण गरिएको हो,’ अध्यक्ष लिम्बूले भने ।
संस्थाले स्थानीय सरकार सभापोखरी गाउँपालिकालाई स्थानीय राजस्वबापत सात लाख ५० हजार रुपैयाँ बुझाएको अध्यक्ष लिम्बूको भनाइ छ ।
बाह्रबिसे बजारनजिकैबाट बग्ने सभाखोलाबाट स्थानीयले २०६५ सालमा लघु जलविद्युत् उत्पादन गरी बत्ती बालिरहेका थिए । अँध्यरोबाट मुक्त भई उज्यालोमा बस्न स्थानीयको लगानी र नवीकरणीय ऊर्जाको सहयोगमा विद्युत् उत्पादन गरी सञ्चालनमा रहेको थियो ।
तत्कालीन समयमा बाह्रबिसे बजार अन्धकार भएपछि बत्ती बाल्ने जोसजाँगरले लघु जलविद्युत् उत्पादन गरी बत्ती बाल्ने कार्यमा जुटेको संस्थाको सचिव कैलाश कालाखेतीले बताए । उनले नेपाल सरकारको नवीकरणीय ऊर्जाबाट ३८ लाख ५० हजार अनुदान, तत्कालीन जिल्ला विकास समिति र सभापोखरी गाविसबाट पाँच–पाँच प्रतिशत अनुदान सहयोग, स्थानीय २५० जनाबाट तीन–तीन हजार रुपैयाँ धरौटी रकम र ५०–५० दिन जनश्रमदान गरी विद्युत् उत्पादन गरी बाल्न सुरु गरिएको बताए ।
संस्थापक सेयरधनी २७५ जनालाई संस्थाका अध्यक्ष भीमबहादुर लिम्बू, सचिव कैलाश कालाखेतीले चेक हस्तान्तरण गरेका थिए भने ८६ जना सेवाग्राहीहरूलाई तीन हजार रुपैयाँ नगदै प्रदान गरिएको थियो । संस्थामा आबद्ध रहेका चारजना कर्मचारीलाई १५–१५ हजार रुपैयाँ बोनससहित बिदाइ गरिएको जनाएको छ । लघु जलविद्युतमा आबद्ध सेयरधनी र सेवाग्राहीहरू गाउँ–गाउँबाट बाह्रबिसे बजारमा भेला भएका थिए ।