राजविराजस्थित सामाजिक विकास इकाइ कार्यालयमा एक सातादेखि तालाबन्दी

बिहिबार, ४ बैशाख, २०८२
डिजिटल संस्करण

जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाइ कार्यालयमा तालाबन्दी गरेका छन्।

गत शुक्रबार इकाइ कार्यालयमा तालाबन्दी गरेपछि सात दिनदेखि कामकाज ठप्प भएको कार्यालय प्रमुख सुशीलकुमार झाले बताए। मधेश प्रदेश सरकारअन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयका योजना यही कार्यालयमार्फत सञ्चालन हुँदै आएका छन्।

पूर्वमन्त्रीका कार्यकर्ताहरू योजनाको सूची बनाएर उपभोक्ता समिति गठनबारेको चिठी माग्न आउँदा नदिएकाले कार्यालयमा तालाबन्दी गरेका इकाइ प्रमुख झाले बताए। ‘चिठी सीधा वडा कार्यालयमा जाने भने जानकारी दिएपछि पूर्वमन्त्रीजी आफैँ आएर कार्यालयमा ताला लगाउनुभयो।’

प्रदेश सरकारबाट आएका योजनाहरूको उपभोक्ता समिति बनाउने बारेको पत्र आफूहरूले सीधा वडा कार्यालयमा पठाउने गरेको इकाइ प्रमुख झा बताउँछन्। ‘हामीले कुनै व्यक्तिलाई चिठी दिन मिल्दैन,’ उनले भने, ‘मन्त्रीजीका कार्यकर्ता चिठी माग्न आएका थिए, हामीले व्यक्तिलाई दिन नमिल्ने भन्दै वडामा पठाउने भनेपछि ताला लगाइयो।’

जनमतको मधेश संसदीय दलका नेता एवं पूर्वमन्त्री यादव आफूले ताला लगाएको स्विकारे। उनले योजनाका चिठीहरू कार्यालय प्रमुखले वडा कार्यालयमा नपठाएर अनधिकृत व्यक्तिलाई दिने गरेको जिकिर गर्दै ताला लगाएको स्पष्टीकरण दिए।

सुझावित समाचार