अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापामाथि लगाएको दश वर्षको प्रतिबन्ध समाप्त भएको छ ।थापाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ममाथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु। फिफाले सन् २०१५ को १६ अप्रिलमा प्रतिबन्ध लगाएको थियो। त्यो २०२५ को अप्रिल १५ मा आएर टुंगिएको छ।’
उनले यो दश वर्ष निकै चुनौतीपूर्ण रहेको बताएका छन् । ‘कठिन दशवर्षे अवधिपश्चात्, मेरो फुटबलसँग सम्बन्धित सबै गतिविधिबाट भएको निलम्बन अब समाप्त भएको छ। यो यात्रा चुनौतीपूर्ण थियो, तर यस अवधिमा मेरो परिवार, साथीहरू, शुभचिन्तकहरू र समस्त फुटबलप्रेमीहरूले गर्नुभएको सहयोग र अटल समर्थनका लागि म धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। ’
थापाले नेपाली फुटबलको विकास र विस्तारमा आफ्नाे साथ र सहयोग सधैँ रहने पनि बताएका छन्।