वीरगन्जका केही युवाहरूले बुधबार बिहानदेखि परवानीपुर, प्रतिमा चोक, घडिअर्वा चोक, नेसनल ट्रेडिङ चोकसहित विभिन्न स्थानमा फेरि प्रदर्शन गरेका छन् । गत शनिबार हनुमानजयन्तीको शोभायात्राका क्रममा धार्मिक सदभाव बिथोल्ने र तोडफोडको आरोपमा मंगलबार पर्सा प्रहरीले चारजनालाई पक्राउ गरेपछि उनीहरूले प्रदर्शन गरिरहेका हुन् ।
मंगलबार पक्राउ परेकामध्ये दुईजना युवा निर्दोष रहेको भन्दै रिहाइको माग गर्दै युवाहरूले टायर बालेर प्रदर्शन गरेको पर्सा प्रहरीले जनाएको छ । मंगलबार साँझ जिल्ला प्रहरी कार्यालयअगाडि धर्नामा बस्न खोज्नेहरूलाई प्रहरीले लाठीचार्ज गरेको थियो । त्यहाँबाट उनीहरूले घण्टाघर, आदर्शनगर चोक क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
दुई समूहको झडपको घटनापछि पर्सा प्रहरीले क्षेत्रको सुरक्षालाई कडा बनाएको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले बताए। अहिले भेला, प्रदर्शन आदि हुन नपाउने गरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको उल्लंघन गरी मंगलबार साँझ र बुधबार पनि वीरगन्जमा लगातार प्रदर्शन गरिएको हो ।
प्रहरीले शनिबारको घटनामा संलग्न रहेको आरोपमा चारजनालाई मंगलबार पक्राउ गरेको थियो। प्रहरी उपरीक्षक गौतम मिश्रले सर्वदलीय सर्वपक्षीय बैठकमा भएको पाँचबुँदे सहमतिअनुसार नै घटनामा दोषी पाइएका चारजनालाई पक्राउ गरिएको बताएका छन्। यस्तै, बुधबार पनि शनिबारको घटनामा संलग्न रहेको आरोपमा थप एकजनालाई नियन्त्रणमा लिइएको बताए। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बिहान ११ बजेदेखि प्रदर्शनकारी युवाका अगुवाहरूसँग छलफल सुरु गरिएको बताए।