इजरायली आक्रमणमा गाजामा मारिनेको संख्या ५१ हजार पुग्यो

बुधबार, ३ बैशाख, २०८२
डिजिटल संस्करण

गाजापट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो सोमबार कम्तीमा १७ थप प्यालेस्टिनीको मृत्यु भएपछि अक्टोबर २०२३ देखि इजरायलको नरसंहारकारी युद्धमा मारिने प्यालेस्टिनीको संख्या ५१ हजार पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ६९ जना थप घाइतेलाई पनि अस्पताल स्थानान्तरण गरिएको बताएको छ । योसँगै इजरायली आक्रमणमा घाइते हुनेको संख्या एक लाख १६ हजार ३४३ पुगेको छ । ‘कैयौँ पीडित अझै पनि भग्नावशेषमुनि र सडकमा फसेका हुन सक्छन् । उद्धारकर्ता घाइतेसम्म पुग्ने अवस्था छैन,’ विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो युद्धविराम सम्झौता लम्बिन नसकेपछि इजरायली सेनाले मार्च १८ मा गाजापट्टीमा पुनः आक्रमण सुरु ग¥यो । जनवरीमा युद्धविराम भएर कैदी आदानप्रदान सम्झौता भए पनि यसबिच इजरायली कारबाहीमा एक हजार ६३० जना मारिए भने चार हजार ३०० भन्दा बढी घाइते भएका थिए ।

गत नोभेम्बरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले गाजामा युद्ध अपराध र मानवताविरुद्धको अपराध भएको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सरकारका पूर्वरक्षामन्त्री योभ ग्यालान्टलाई पक्राउ वारेन्ट जारी गरेको थियो । इजरायलले गाजामा गरेको बमबारीका लागि अन्तर्राष्ट्रिय न्यायालयमा नरसंहार मुद्दाको सामना पनि गरिरहेको छ । 
 

सुझावित समाचार