भोजपुरको बैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र

मंगलबार, २ बैशाख, २०८२
डिजिटल संस्करण

रामप्रसाद राई गाउँपालिका– ६ स्थित बैकुन्ठेमा  ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ। व्यावसायिक सुन्तला तथा फलफूल खेतीमा लागेका किसानलाई खेती–प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना गरिएको हो ।

बैकुन्ठे क्षेत्र सुन्तलासँगै फलफूल खेतीका लागि उपयुक्त रहेकाले वडाले बजेट विनियोजन गरेर सिकाइ केन्द्र स्थापना गरेको रामप्रसाद राई– ६ का वडाध्यक्ष एकराज आचार्यले बताए।

किसानलाई बाहिरका बिरुवाभन्दा पनि यहीँको हावापानी, भूगोल, माटो सुहाउँदो सुन्तलाका बिरुवा उत्पादन गर्ने लक्ष्यले नर्सरी स्थापना गरिएको वडाध्यक्ष आचार्यले बताएका छन् । गत आर्थिक वर्षमा वडाले एक लाख ५० हजार बजेट विनियोजन गरेर केन्द्र स्थापना गरेको उनको भनाइ छ ।

‘बैकुन्ठेका अधिकांश किसानले व्यावसायिक सुन्तलासँगै फलफूल खेती गरिरहेका छन्,’ वडाध्यक्ष आचार्यले भने, ‘कतिपय किसानलाई सुन्तला तथा फलफूल खेतीसम्बन्धी सामान्य जानकारी नहुँदा समस्या पनि देखिन्छ । किसानलाई सुन्तला, कागतीलगायत खेती प्रणालीको विषयमा प्रयोगात्मक रूपमा जानकारी दिन सिकाइ केन्द्र स्थापना गरेका हौँ ।’

केन्द्रमा किसानको सक्रियतामा सुन्तला नर्सरीसमेत स्थापना गरिएको छ ।  दुईवटा टनेलमा सुन्तलाका बिरुवा उत्पादन गरिएको स्थानीय राजेन्द्रकुमार राईले बताए। नर्सरीमा उत्पादन भएका बिरुवा किसानलाई वितरण गरिने उनको भनाइ छ । आफ्नै ठाउँमा सिकाइ केन्द्रबाट सुन्तलासँगै फलफूल खेतीको विषयमा आवश्यक प्राविधिक ज्ञान लिन सहज भएको उनले बताए।

‘सिकाइ केन्द्रमार्फत हामीले सुन्तलाका बिरुवा पनि उत्पादन गरेका छौँ,’ उनले भने, ‘हामीले कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा खेती प्रविधिको विषयमा जानकारी लिन पाएका छौँ । सुन्तला, कागतीमा रोग, किरा देखिएमा कसरी निराकरण गर्ने भन्ने पनि सिक्ने अवसर पाएका छौँ । सिकाइ केन्द्रबाट अभ्यासमूलक ज्ञान लिन सहज छ ।’

सिकाइ केन्द्रका माध्यमबाट किसानलाई खेती प्रविधिको विषयमा जानकारी दिने कार्य भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख धीरज ठाकुरले बताए। किसानलाई सिकाइ केन्द्रमा बोलाएर अभ्यास गराएर नै खेती प्रविधिबारे जानकारी दिने गरिएको उनको भनाइ छ । 

‘किसानलाई बढी मात्रामा लाग्ने रोग, किरा प्रकोप र खेती प्रविधिबारे जानकारी दिन्छौँ,’ उनले भने, ‘एकसाथ अभ्यास गराएर सिकाइने भएकाले कार्यक्रम किसानका लागि उपयुक्त देखिएको छ ।’
 

सुझावित समाचार