यू–१९ विश्वकप छनोट आजदेखि, स्थान सुरक्षित राख्ने नेपालको लक्ष्य

आइतबार, ३१ चैत, २०८१
डिजिटल संस्करण
यू–१९ विश्वकप छनोट आजदेखि, स्थान सुरक्षित राख्ने नेपालको लक्ष्य

आइसिसी यू–१९ विश्वकप एसिया छनोट खेलको ट्रफीका साथ कप्तानहरू ।

  • एसिया छनोटमा सहभागी नेपाल, अफगानिस्तान, हङकङ, युएई र ओमानबिच शीर्ष स्थानमा रहने राष्ट्रले सन् २०२६ मा नामिबिया र जिम्बावेले संयुक्त रूपमा आयोजना गर्ने यू–१९ विश्वकप खेल्ने

मूलपानी क्रिकेट मैदानमा आइतबारदेखि आइसिसी यू–१९ विश्वकप एसिया छनोट खेल सुरु हुँदै छ । आयोजक नेपालरहित टेस्ट राष्ट्र अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोट खेलमा प्रतिस्पर्धा गर्दै छन् । सहभागी टोलीले एक–आपसमा एक–एकपटक भिड्नेछन् । राउन्ड रोविन लिगको शीर्ष स्थानमा पुग्ने टोलीले सन् २०२६ मा जिम्बावे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने यू–१९ विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । आइसिसी यू–१९ विश्वकप सन् २०२६ को जनवरीदेखि फेब्रुअरीसम्म चल्नेछ । 

गत संस्करणमा विश्वकप खेलेको नेपाली युवा टोलीले यसपटक पनि छनोट हुने लक्ष्य राखेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट हुने लक्ष्यका साथ चार महिनादेखि खेलाडीहरूलाई प्रशिक्षणमा राखेको छ । यसै साता युवा टोलीले अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । आइसिसीको आधिकारिक खेल नभए पनि नेपालले अफगानिस्तानलाई तीनवटै खेलमा चुनौती प्रस्तुत गरेको थियो । नेपालका मुख्य प्रशिक्षक शक्ति गौचनले तयारी र अभ्यास खेलका कारण युवा खेलाडीहरू आत्मविश्वास देखिएको बताए । 

‘यसपटक हामीहरूको तयारी निकै राम्रो भएको छ, खेलाडीले अभ्यास खेलसमेत खेल्न पाए,’ पहिलोपटक यू–१९ टोली हेरेका मुख्य प्रशिक्षक गौचनले भने, ‘सहभागी अन्य टोली सबै बलिया छन्, तर हामीले घरेलु मैदानको फाइदा लिनुपर्छ ।’ सन् २०२४ को विश्वकपमा स्थान बनाउँदा नेपालले आठ वर्ष प्रतीक्षा गरेको थियो । सन् २०१६ पछि नेपाल एकैपटक गत संस्करणको विश्वकपमा छनोट भएको थियो । सन् २०२३ मा नेपालले युएईलाई हराउँदै विश्वकपको स्थान बनाएको थियो । 

गत संस्करणमा नेपालसँग स्तब्ध भएका कारण नै अफगानिस्तानले छनोट बाटो अपनाउनु परेको हो । यू–१९ को समूहमा नेपाल र अफगानिस्तान एक–आपसका प्रमुख प्रतिद्वन्द्वीका रूपमा लिने गर्छ । नेपालको अन्तर्राष्ट्रिय यात्रामा अफगानिस्तान सधैँ बाधक बनेको देखिन्छ । घरेलु मैदानमा नेपालले अफगानिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । नेपालका कप्तान नरेन भट्टले मूलपानी मैदानमा अफगानिस्तानसँगको अनअफिसियल एकदिवसीय खेल राम्रो भएको बताएका छन् । ‘मूलपानीमा हामीले अफगानिस्तानसँग राम्रो खेल्यौँ, यस मैदानमा विपक्षीमाथि दबाब बनाउन सकिन्छ,’ भट्टले भने, ‘एकदिवसीय सिरिजमा पनि हामीले धेरै सुधार गर्न मौका पायौँ ।’ 

नेपालको तयारी चार महिनाको
क्यानले गौचनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएपछि यूवा खेलाडीले नियमित प्रशिक्षण गरेका छन् । नेपालको उमेर समूहमा गौचन राम्रा अलराउन्डरमा चिनिन्थे । अर्को वर्ष विश्वकपका लागि गौचनले सुरुवातमै क्लोज क्याम्पमा खेलाडी बोलाएका थिए । उनले सुरुमा ३६ खेलाडीलाई क्लोज क्याम्पमा डाके । खेलाडीको क्षमताअनुसार उनले तीन समूहमा नेपाली टोली बनाए । रातो, हरियो र नीलो गरी टोलीलाई एक–आपसमा डबल राउन्ड रोबिन लिगअनुसार भैरहवामा उनले खेलाडीलाई प्रशिक्षण दिलाए । 

भैरहवाको प्रशिक्षणपछि उनले २४ खेलाडी छनोट गरेका थिए । दोस्रो चरणमा गौचनले १२ खेलाडी फ्याँकिएका थिए । क्लोज क्याम्प तेस्रो चरणसम्म पुग्दा १८ सदस्यीय टोलीमा सीमित भयो । यस टोलीले भारतको नारायण क्रिकेट रंगशालामा नयाँदिल्लीको युवा खेलाडीसँग तीनवटा अभ्यास खेल खेलेको थियो । जसमा नेपाल ३–० ले विजयी भयो । मुख्य प्रशिक्षक गौचनले क्लोज क्याम्पदेखि अन्तिम टोली घोषणा गर्दासम्म धेरै पक्षसँग जानकार भएको बताए । ‘अन्तिम टोली घोषणा हुँदासम्म हामीले एक–आपसका कमीकमजोरी थाहा पायौँ,’ उनले भने, ‘यो चार महिनाको अवधिमा खेलाडीहरूले पनि आफूलाई चिन्ने मौका पाएका छन् ।’ 

यू–१९ विश्वकपमा गर्विलो इतिहास
नेपालले सन् २००२ मा पहिलोपटक यू–१९ विश्वकपमा स्थान बनाएको थियो । सन् २००० को दशकमा नेपाली युवा टोलीले विश्वकपमा सनसनी नतिजा निकालेको थियो । त्यसवेला नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्रलाई हराएको थियो । नेपालले लगाचार चार विश्वकप खेलेको थियो । नेपालले सन् २००२, २००४, २००६ र २००८ खेलेको थियो । त्यसपछि नेपाल सन् २०१० को विश्वकपमा पुगेन । सन् २०१२ को विश्वकपमा नेपालले स्थान बनायो । नेपालका कप्तान भट्टले आफूहरू लगातार विश्वकपमा पुग्ने बताए । ‘हामीहरूको तयारी हेर्दा नेपाल पुनः एकपटक विश्वकपमा पुग्नेछ,’ उनले भने, ‘घरेलु मैदानको फाइदा लिनुपर्छ ।

सुझावित समाचार