बालबालिकालाई कम्तीमा सातामा दुईपटक बिहान वा साँझपख साइक्लिङ गराउनु राम्रो हुन्छ । स्कुलबाट घर फर्किएपछि खाजा खुवाएर केही समय बाहिर खुला ठाउँ वा पार्क साइक्लिङ गराउँदा उनीहरू प्रकृतिसँग घुलमिल हुन पाउँछन् । यसले मानसिक ताजगी दिन्छ ।
साइक्लिङ गर्ने ठाउँ भिडभाडमुक्त, सावरीसाधनको आवतजावत नहुने र सुरक्षित भने हुनुपर्छ । विदेशमा बालबालिकालाई पाँच वर्षदेखि साइक्लिङ सुरु गराइन्छ । अभिभावकले सुरुमा हेन्डलिङ गर्न सिकाउँछन् । त्यसपछि उनीहरूकै साइजको साइकलमा साइड पांग्रा राखेर अभ्यस्त गराउँदै लैजान्छन् । बानी परिसकेपछि सुरक्षित स्थानमा बालबालिका आफैँले साइकल कुदाउन थाल्छन् ।
साइक्लिङ गर्दा निकै सचेत हुनुपर्छ । अन्य सवारीसाधन वा मानिस आए–गएको नियाल्नुपर्छ । खाल्डाखुल्डी हेरेर चलाउनुपर्छ । त्यसैले बच्चैदेखि साइक्लिङको अभ्यास गर्नु भनेको सचेत हुने कला सिकाउनु पनि हो । यो अभ्यासले भविष्यमा बालबालिका हरेक कुरामा सचेत हुन्छन् । स्वस्थ बन्न सिक्छन् । आत्मनिर्णय लिन सक्छन् । बालबालिकालाई अभिभावकको निगरानीमा समूहमा राखेर साइक्लिङ सिकाउने गर्नुपर्छ । यसो गर्दा उनीहरूलाई अन्य मानिससँग घुलमिल हुने बानी पर्छ । साथी सर्कल बन्छ । बच्चाको दिनभरको आलस्य हट्छ । स्मरणशक्ति पनि बढाउँछ । मांसपेशीलाई बलियो बनाउँछ । बालबालिका मात्रै नभई वयस्क र वृद्धवृद्धाले पनि साइक्लिङ गर्न सक्छन् । साइक्लिङले शरीरलाई फ्रेस राख्छ ।
साइक्लिङका फाइदा
रक्तचाप नियन्त्रण : साइक्लिङले रगतमा अक्सिजनको मात्रा बढाउने भएकाले रक्तसञ्चारमा सुधार आउँछ । रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ ।
मांसपेशी मजबुत : साइक्लिङले जोर्नीमा लचकता ल्याउँछ । नियमित साइक्लिङ गर्दा मांसपेशी बलियो बनाउन सहयोग पुग्छ । शरीरको पछाडिपट्टिका हड्डी सक्रिय रहने भएकाले ढाड र गर्दनको दुखाइबाट समेत राहत मिल्छ ।
मोटोपन घट्छ : दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ । त्यसैले साइक्लिङ गर्नेले बढी क्यालोरीयुक्त खाना खाँदा पनि खासै फरक पर्दैन । मोटोपन भएका व्यक्तिले साइक्लिङ गरेमा अन्य व्यायाम गर्नुपर्दैन । तौल आफैँ नियन्त्रण भएर जान्छ ।
स्मरणशक्ति बढाउँछ : साइक्लिङ गर्ने व्यक्तिमा दिमागी शक्ति (बे्रन पावर) बढ्ने विभिन्न अध्ययनले देखाएका छन् । साइकल चलाउँदा ब्रेन सेल निर्माण हुने भएकाले मस्तिष्क विकासका लागि समेत यो निकै उपयोगी छ ।