सुनील नारिन ब्याटिङ र बलिङमा चम्केपछि साबिक विजेता कोलकाता नाइट राइडर्सले शुक्रबार चेन्नई सुपर किंग्समाथि आठ विकेटको सानदार जित निकालेको छ । घरेलु मैदानमा पहिलोपटक महेन्द्रसिंह धोनीको कप्तानीमा चेन्नईले प्रतिस्पर्धा गरेको थियो । तर, धोनीले कप्तानी गरेको पहिलो खेलमै चेन्नईलाई जित दिलाउन सकेन । चालू सिजनमा चेन्नईले लगातार पाँच खेल गुमाएको छ ।
पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभरमा नौ विकेट गुमाएर १०३ रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा कोलकाताले १०.१ ओभरमा दुई विकेटको नोक्सानीमा १०७ रन जोड्यो । कोलकाताको जितमा वेस्ट इन्डिजका सुनीलले अलराउन्ड खेल देखाए । उनले लक्ष्य पछ्याएको इनिङ्समा १८ बलमा पाँच छक्का र दुई चौका प्रहार गरी सर्वाधिक ४४ रनको योगदान दिएका थिए । बलिङमा उनले १३ रन खर्चेर चेन्नईका तीन विकेट लिए ।
कोलकाता तेस्रो स्थानमा
चेन्नईमाथिको महत्वपूर्ण जितका साथ कोलकाता अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । कोलकाताले ६ खेलमा समान तीन जित र तीन हार गरी ६ अंक जोडेको छ । शीर्ष स्थानमा गुजरात टाइटन्सले आठ अंक बटुलेको छ । अहिलेसम्म अपराजित रहेको एक मात्र टोली दिल्ली क्यापिटल्सले चार खेलमा जित निकाली आठ अंक जोडेको छ । दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ । पाँचपटकको विजेता चेन्नई दुई अंकका साथ नवौँ स्थानमा पुगेको छ । कोलकाता र चेन्नईले लिगमा समान ६ खेल खेलेका छन् ।
कोलकाताको जितमा अजिन्का राहाने र रिंकु सिंहले तेस्रो विकेटका लागि अविजित १९ बलमा २२ रनको साझेदारी गरेका थिए । रिंकुले १२ बलमा समान एक चौका र छक्का प्रहार गरी १५ रन बटुले । राहानेले १७ बलमा समान एक चौका र छक्काको सहयोगमा २० रन जोडे । रिंकुले विजयी छक्का प्रहार गरे ।
चेन्नईको कमजोर ब्याटिङ
चालू सिजनमा कोलकातासँगको खेल नै चेन्नईको कमजोर ब्याटिङ प्रदर्शन हो । चार खेलाडीबाहेक अन्यले दोहोरो अंकमै रन बनाउन सकेनन् । रविचन्द्रन आश्विन (१), रवीन्द्र जडेजा (०), दीपक होडा (०), धोनी (१), नुर अहमाद (१) र अंशुल काम्बोज (३) ले योगदान गरे । ओपनर राचिन रभिन्द्राले चार रन बनाए । यसबाहेक डेभेन कोन्वेले ११ बलमा १२ रन जोडे । राहुल त्रिपाठीले २२ बलमा १६ रन बनाए । विजय शंकर र शिवम दुवेले गतिलो योगदान दिए । विजयले २१ बलमा २९ रन तथा दुवेले २९ बलमा ३१ रनको योगदान दिए ।