कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका भुवन महरा प्यानलसहित विजयी भएका छन् । महरा ४४१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी अखिलको संयुक्त प्यालनबाट सभापतिका उम्मेदवार बमबहादुर विश्वकर्माले ३७८ मत प्राप्त गरे । महरा लगातार दोस्रो कार्यकाल स्ववियु सभापतिमा निर्वाचित भएका हुन् ।
सचिवमा नेविसंघका ज्योति साहु ४७४ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी अखिल संयुक्तका गणेशनाथ योगीले ३२६ मत प्राप्त गरे । त्यस्तै, कोषाध्यक्षमा नेविसंघकै सोनिया शाही निर्वाचित भइन् । शाहीले ४४५ र उनका प्रतिस्पर्धी अखिल संयुक्तका दीपिका जोशीले ३५१ मत प्राप्त गरिन् ।
बुधबार भएको निर्वाचनमा ८३१ मत खसेको थियो । यहाँ नेविसंघविरुद्ध अन्य विद्यार्थी संगठन एक भएर चुनाव लडेका थिए । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा बुधबार निर्वाचन भएको हो ।