बार एसोसिएसनको अध्यक्षमा मिश्रको जित सुनिश्चित

५६० मत गन्न बाँकी, प्रतिद्वन्द्वीभन्दा मिश्र २६ सय ६२ मतले अघि

बिहिबार, २७ चैत, २०८१
डिजिटल संस्करण
बार एसोसिएसनको अध्यक्षमा मिश्रको जित सुनिश्चित

डा. विजयप्रसाद मिश्र

 नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता तथा प्राध्यापक डा. विजयप्रसाद मिश्रको जित सुनिश्चित भएको छ । उनी प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठभन्दा दोब्बर मतले अगाडि छन् । बुधबार अन्तिम समयमा मिश्रको मत चार हजार ८९२ छ भने प्रतिद्वन्द्वी श्रेष्ठले दुई हजार २२९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । मिश्र कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको संगठन डिएलए र पिपिएलए गठबन्धनका उम्मेदवार हुन् । श्रेष्ठ भने माओवादीनिकट मानिन्छन् । श्रेष्ठले नेतृत्व गरेको प्यानलमा विपक्षी दलनिकट कानुन व्यवसायी छन् ।

निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौला भन्छन्– २५ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचनको अन्तिम मतपरिणाम बिहीबार आउँछ । अब केही मत मात्र गन्न बाँकी छ ।

अध्यक्ष, महासचिव र कोषाध्यक्षका साथै अन्य पदमा पनि सत्तागठबन्धननिकट कानुन व्यवसायी जितनिकट छन् । मतगणनाको तथ्यांक अद्यावधिक गरिरहेका अधिवक्ता जनक साउदले भने, ‘अब ललितपुर जिल्ला बारको ५६० मत गन्न बाँकी छ । त्यो बिहीबार सुरु भएर अन्तिम नतिजा आउँछ ।’ शनिबार सम्पन्न मतदानपछि देशभरका ३५ मतदान केन्द्रको मत आइतबारबाट गन्न सुरु गरिएको हो । कानुन व्यवसायीको छाता संगठन बारको २७औँ कार्यसमितिका लागि ५७ उम्मेदवार थिए । २५ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचनको अन्तिम मतपरिणाम बिहीबार आउने निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिए । अब केही मत मात्र गन्न बाँकी रहेको र नतिजाको औपचारिक घोषणा बिहीबार गरिने उनले बताए । 

यसैगरी, महासचिव पदमा पनि सत्तागठबन्धननिकट केदारप्रसाद कोइराला दोब्बर मतले अगाडि छन् । निर्वाचन अधिकृत सिटौलाका अनुसार कोइरालाले चार हजार ७०४ मत पाउँदा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले दुई हजार २९ मत पाएका छन् । कोषाध्यक्षमा पनि सत्तागठबन्धननिकट कानुन व्यवसायीकै अग्रता छ ।जगतबहादुर कार्कीले चार हजार ९४० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी दीपक राईले एक हजार ५८१ मत प्राप्त गरेका छन् । बारको निर्वाचनमा नौ हजार ९९७ मतदाता रहेकोमा सात हजार ९९५ मत खसेको थियो । 

कुल मतदाता : ९९९७
खसेको मत : ७९९५
गन्न बाँकी मत : ५६०

सुझावित समाचार