काठमाडौं उपत्यकामा वर्षा : वर्षासँगै अब तुवाँलो पनि क्रमिक रूपमा हट्ने

बझाङमा चट्याङ लागेर एकको मृत्यु, पहिरोले सडक अवरुद्ध

बिहिबार, २७ चैत, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबार बिहानैदेखि सामान्य वर्षा भइरहेको छ । आज मध्याह्न, अपराह्न र राति पनि सामान्य रूपमा वर्षा हुने मौसमविद् डेभिड ढकालले बताए  । वर्षासँगै काठमाडौं उपत्यकाको साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रूपमा हट्ने ढकालले बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुन सक्नेछ ।  

महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरू मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति सोही प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।     

बझाङमा चट्याङ लागेर एकको मृत्यु    

यसैगरी, बझाङमा चट्याङ लागेर एकजनाको निधन भएको छ । बुधबार साँझ बित्थडचिर गाउँपालिका– ३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । जिल्लामा लगातार पानी र अझै चट्यानको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे ।  

जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध

यहाँको केदारस्यूँ गाउँपालिका– ९ को पौडी ढोड्याखेत बजारनजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुधबार साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

यस्तै, बित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । सडक अवरुद्ध भएसँगै सञ्चालनका लागि जेसिबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले जानकारी दिए । रासस 
 

See More On

सुझावित समाचार