शीर्ष वरीयताका भुवन अन्तिम आठमा

बुधबार, २६ चैत, २०८१
डिजिटल संस्करण

सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सूर्य नेपाल एनपिजिए म्याच प्लेको पहिलो दिन मंगलबार शीर्ष स्थानका प्रो गल्फर भुवन नगरकोटी र दोस्रो वरीयताका नीरज तामाङ क्वार्टरफाइनलमा पुगेका छन् । साबिक विजेता दिनेश प्रजापति, धनबहादुर थापा, रवि खड्का, प्रदीपकुमार लामा, तोरणविक्रम शाही र रामे मगरले पनि अन्तिम आठमा स्थान बनाएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा भुवनले १६औँ वरीयताका पशुपति शर्मालाई ५–४ ले हराए । चार होल अगाडि जित निकालेका भुवनले सेमिफाइनल प्रवेशका लागि धनबहादुर थापाविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । आठौँ वरीयताका धन र नवौँ वरीयताका भुवनकुमार रोक्काबिच कडा प्रतिस्पर्धा चलेको थियो । १७औँ होलको समाप्तिसम्म दुवैले बराबरी स्कोर गरेका थिए । 

धनले १८औँ होल बाजी मार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे । दोस्रो स्थानका नीरजले १५औँ वरीयताका सूर्यप्रसाद शर्मालाई सहजै ५–४ ले हराए । चार होलअगाडि पहिलो चरणको खेल जितेका नीरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा छन् । नीरजले अब सातौँ वरीयताका रामे मगरसँग क्वार्टरफाइनल खेल्नेछन् । रामेले १०औँ वरीयताका दीपक मगरलाई ४–३ को नतिजामा माथ दिए ।

साबिक विजेताले रमेशलाई हराए
साबिक विजेता तथा तेस्रो वरीयताका दिनेशले क्वार्टरफाइनल स्थान पक्का गर्ने क्रममा १४औँ वरीयताका रमेश अधिकारीलाई ४–३ ले निराश पारे । उनले अब अनुभवी तोरणविक्रम शाहीसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् । ११औँ वरीयताका तोरणसँग छैटौँ वरीयताका जयराम श्रेष्ठ ३–२ ले पराजित भए । चौथो वरीयताका रवि खड्काले १३औँ वरीयताका टंकबहादुर कार्कीलाई ३–२ ले हराउँदै अन्तिम आठ स्थान सुरक्षित गरेका छन् । 

See More On

सुझावित समाचार